Loading... आजः २०८१ बैशाख ८, शनिबार

अभियन्‍ताहरु भन्‍छन् : परिवर्तनका लागि संवाद जरुरी छ

काठमाडौँ : अधिकारकर्मी तथा सरोकारवालाहरुबीच मधेसको सवालमा एक अन्तरक्रिया सम्पन्न भएको छ ।

पहाड र मधेसबीच संवाद तथा अन्तरघुलन जरुरी रहेको अन्तरक्रियामा सहभागीहरुको धारणा थियो । ‘ईनिसिएटिभ्स अफ चेन्ज, (आईओएफसी)’को आयोजनामा जुम मिटिङमार्फत आइतबार उक्त अन्तरक्रिया सम्पन्‍न भएको हो । अन्तरक्रियाको सञ्चालन (आईओएफसी) की एक अभियन्‍ता मिना शर्माले गरेकी थिइन् ।

अन्तरक्रियाको क्रममा अधिकारकर्मी रिता कुमारी साहले पहाडी र मधेसी समुदायबीच केन्द्र स्तर, प्रदेश स्तर र स्थानीय तहको स्तरबाट संवाद गर्नुपर्ने बताइन् । पछिल्लो समय मधेससँग संवाद गर्नुपर्छ भन्ने धारणा युवाहरुमा विकास हुँदैगरेको अनुभव आफूले गरेको उनले सुनाइन् । समुदायबीच अन्तर्घुलन हुनुपर्ने तर्क उनको थियो ।

यस्तै अर्का अभियन्ता भैयाराम यादवले संवादका लागि केन्द्रबाट सकारात्मक सोच राख्नुपर्ने तर्क गरे ।

‘आईओएफसी ’का अध्यक्ष तथा युवा अभियन्ता केशव दाहालले नेपाल विविध जातजाति र भाषा, संस्कृतिको देश भए पनि एकअर्को समुदायबीच संवाद नहुनु विडम्वना रहेको बताए ।

‘हामी भारत, चीनबारे जानकारी लिन्छौँ, तर आफ्नै देशभित्रको फरक समुदायको अवस्था र समस्याबारे जानकारी हुँदैन । विविध भाषा र संस्कृतियुक्त देश भनिएको छ । तर आपसमा अपरिचित जस्तो व्यवहार हुनु विडम्वना हो,’ अभियन्ता दाहालले भने ।

विभिन्न कारणले पहाड र मधेसबीच अन्तरघुलन हुन नसक्नु समस्या रहेको भन्दै यसलाई चिरेर सद्भाव कायम गर्नुपर्ने बहसमा सहभागीहरुको साझा बुझाइ थियो । यसका लागि युवाहरुको सक्रिय सहभागिता हुनुपर्ने वक्ताहरुको भनाइ थियो ।

लामो सशस्त्र युद्ध र विभिन्न आन्दोलनका बावजुद पहाड र मधेस समुदायबीच प्रभावकारी संवाद र अन्तरक्रिया स्थापित गर्न आफूहरु लागिपरेको ‘आईओएफसी’का अभियन्ता कमल कँडेलले बताए । पहाड र मधेसका युवाहरुले आपसी समस्याबारे खुलेर संवाद गर्दा नै सामाजिक रुपान्तरण सम्भव भएको दाहालको भनाइ थियो ।