Loading... आजः २०८१ बैशाख ४, मंगलवार

“मलेसियाको कमाई गाउँमै, यान्त्रिकरण गरेर मनग्ये आम्दानी गर्छौं”

सुर्खेत, २७ साउन ।
सुर्खेतको बराहताल गाउँपालिकाको वडा नं. पाँचको सुनद्धारीका कृषकको दैनिकिमा पूर्ण परिवर्तन आएको छ । मलेसिया देखि भारतका विभिन्न शहरमा काम गर्न भन्दै यसअघि जाने गरेका युवाहरु गाउँमै भैंसीपालन गर्दै मासिक हजारौं आम्दानी गर्दै आइरहेका छन् ।
गाउँमा रहेको ‘सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूह’का अध्यक्ष रत्नलाल सुवेदीले गाउँको कृषिमा यान्त्रीकरण गर्ने प्रयासमा आफूहरु लागेको बताए । गाउँमा गरिने कृषि क्षेत्रमा यान्त्रीकरण गरी मेसिनबाट खेती लगाउनेदेखि भित्र्याउनेसम्मको काम गर्ने तयारी भएको उनको भनाई छ ।


‘गोरुले गर्ने काम मेसिनले गर्छ, गोरु पाल्नुको सट्टा भैंसी पाल्छौं, दूध बेचेर आम्दानी गर्छौं ।’ यान्त्रीकरणका लागि प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म प्रस्ताव गरेको अध्यक्ष सुवेदीले बताए । प्रशस्त पशुपालनबाट मलको अभाव भोग्नु नपरेको बताउँदै उनले गोरुको ठाउँमा भैंसी पाल्न थालेमा मल उत्पादनमा थप वृद्धि हुने बताए ।
समूहका सचिव गोविन्द पौडेलले कृषकको योजना अनुसार कृषि यन्त्रको पर्याप्तताका लागि स्थानीयसँगै प्रदेश सरकारको विशेष सहयोग खाँचो रहेको उनको भनाई थियो । स्नातकसम्मको अध्ययन गरेका पौडेल एक वर्ष अगाडी मात्रै मलेसियाबाट फर्किएका हुन । उनी आफैंले पनि ७ वटा भैंसी पालेका छन् ।
व्यवसायिक रुपमा भैंसीपालन गरेका पौडेलले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । सरकारी अनुदानसहित उनले भैंसीपालनमा १३ लाख रुपैयाँ लगानी गरेका छन् ।
‘आफ्नो लगानी थोरै भएपनि सरकारी अनुदानको सहयोगले भैंसीपालन सुरु गरेको छु,’ उनले भने, ‘मासिक ८४ हजार रुपैयाँसम्मको दूध बिक्री हुन्छ, खर्च कटाएर ६० हजार रुपैयाँ बचत हुन्छ ।’
उक्त कृषक समूहमा आवद्ध ४७ जना कृषकलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत पशुपंक्षी तथा कृषि निर्देशनालयको तर्फबाट अनुदानमा भैंसी वितरण गरिएको छ । अध्यक्ष सुवेदीका अनुसार आर्थिक वर्ष ०७५÷७६ र ०७६ ÷७७ मा गरी ११० वटा भैंसी वितरण गरिएको छ । ०७६ ÷७७ मा प्रदेश सरकारको १ लाख रुपैयाँ अनुदान र कृषकको ३२ हजार रुपैयाँ लगानीमा गरी १ लाख ३२ हजार बराबरको भैंसी वितरण गरिएको थियो ।
सुनद्वारी गाउँमा दूध बेचेवापत मासिक ५ लाख रुपैयाँसम्म भित्रिने गरेको छ । गाउँमा रहेको चिस्यान केन्द्रमा कृषकहरुले दूध जम्मा गर्छन । फ्याटका आधारमा दूधको पैसा पाउने कृषकले लिटरको १०५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन् ।
‘पछिल्लो समय लकडाउनले केही समस्या पारेको छ, नत्र गाउँमा प्रति महिना ५ लाख रुपैयाँसम्म दूधबाट भित्रिन्छ,’ सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष पौडेलले भने, ‘कृषिबाट आत्मनिर्भर बनेको यो गाउँमा धेरै भैंसी पाल्ने कृषकहरुका लागि जनशक्ति पाउन भने समस्या छ ।’