Loading... आजः २०७८ जेष्ठ १, शनिबार

राउटे : संकटमा एक मात्र घुमन्ते समुदाय

यसरी सम्भव छ उत्थान

प्रमेश पोखरेल

संसारमै घुमन्ते आदीवासी समुदायको लोप हुने क्रम तीव्र छ । यससँगै विश्वमै पशुपालक, आदीवासी र घुमन्ते समुदायको अध्ययनको क्रम विगतमा भन्दा बढी आकर्षणमा छ ।

मानवशास्त्रको विकासक्रम, आदीवासीको आत्मनिर्यणको अधिकार तथा विश्वव्यापीकरणको प्रभावको बहससँगै यी विभिन्न समुदायको बहसले महत्वपूर्ण स्थान ओगटेको छ । तर दुखद नै भन्नुपर्छ नेपालमा भने एकमात्र घुमन्ते समुदाय राउटेको बारेमा यथेष्ट गहन अध्ययनहरु तथा यिनीहरुको संरक्षण र विकासको मुद्दामाथि आम अर्थ राजनीतिक, विकास सम्बन्धी र मानवशास्त्रीय बहसको कमी देखिन्छ ।

त्यसैले पनि नेपालको एक जैविकिय तथा सांस्कृतिक सम्पत्तीको रुपमा रहेका राउटे समस्याको भुमरीमा र लोपको संकटमा छन् । यही सन्दर्भमा राउटे समुदायको सांस्कृतिक, पर्यटकीय, शैक्षिक, विकास तथा अन्य बहुआयामिक दृष्टिकोण, इतिहास तथा विषयको हामी चर्चा गर्दैछौँ ।

अर्थ रानीतिक गतिरोधः विश्वभर नै यस्तै संकट:

राउटे जस्ता आदीम समुदायहरु आदीवासीहरुमा पनि ओझेलमा हुन्छन् । किनभने आदीबासी अन्र्तगत थुप्रै समुदाय पर्दछन् । आदीबासीको रुपमा यीनका मुद्दा र अधिकार आम अन्य समुदायको भन्दा फरक हुन्छन् । मानवशास्त्री जेम्सले भनेझै ट्राइवल समुहको छलफलमा अहिले थुप्रै विरोधाभास र असहमतिहरु छन् । यद्यपी यसलाई बुझ्ने, व्याख्या गर्ने, वकालत गर्ने तथा तिनीहरुको आत्मनिर्णयको कुरा गर्ने परम्परावादी, आधुनिक, माक्र्सवादी, पुँजिवादी, मानवशास्त्रीय, गैरमानवशास्त्रीय तथा उत्तर आधुनिक गरी थुप्रै दृष्टिकोण छन् ।

त्यसैले पनि हुनुपर्छ केही गैरसरकारी क्षेत्रका डलर पचाउने कार्य तथा सरकारको कर्मकाण्ड बाहेक यस्ता समुदायको बहुआयामिक, सघन तथा आत्मनिर्णयको अधिकार बमोजिमका बृहत योजना देखिँदैनन् । विश्वका हजारौं घुमन्ते तथा जंगल, नदी तट, मरुभुमि आसपास आदि स्थानमा बस्ने समुदाय विभिन्न नाममा तथा कारणले विस्तापित, स्थानान्तरण, बसाइसराइ मात्र गर्दै छैनन् स्थानीय, सांस्कृतिक र पहिचानका हिसावले विनाशको संकटमा छन् । चाहे ती अष्ट्रेलियाका एवओरिजीन (आदीमबासी) हुन् या उत्तर पश्चिमी अफ्रिकाका वेर्वर, मुर र वेदुइनहरु हुन् । ठूलै जनसंख्या हुने सहारा, मध्य तथा दक्षीणी अफ्रिकाका बुसम्यान र जुलुहरु हुन् या पश्चिमी अफ्रिकाका फुला या साइवेरिया, अलास्का र क्यानडाको चिसो बरफमा बस्ने इस्कीमोहरु, विश्वव्यापीकरण, परसंस्कृति ग्रहण तथा अन्य प्रक्रियाबाट प्रभावित छन् । नेपालका राउटे पनि यस्तै नियतीबाट गुज्रँदैछन् ।

न्युजिल्याण्डका माउरीदेखि अमेरिकी रेडइन्डिएन सम्म, चाहे कंगो नदी तटका होचो कदका पिग्मिहरु या नजिकै दक्षीणी भारतका टोडा, अफगानिस्तानका कोची, एन्डामान र निकोबार टापुका नेग्रीतो र मंगोलोइल (सोम्पेन र निकोवारिज) आदी नै किन नहोउन्, सबै स्रोत माथिको दोहन र अतिक्रमणको चापमा छन् । अहिले पनि विश्वमा हजारौं घुमन्ते तथा जंगल, नदी तट, मरुभुमि आसपास आदि स्थानमा बस्ने समुदाय छन् । तर यो विनाश, संकट र असुरक्षाको दौरानमा तथा विभिन्न कारणले हुने विस्तापित, स्थानान्तरण, बसाइसराइको शिकार हुँदैछन् । स्थानीय, सांस्कृतिक र पहिचानका हिसावले विनाशको संकटमा छन् ।

पल जेम्सले भनेजस्तै नेपालमा पनि ट्राइवल समुहको दृष्टिकोण प्रष्ट छैन । यहाँ विरोधाभाष र असहमति भन्दा पनि विशिष्टीकरण छैन । अझ भनौँ घुमन्ते आदीमबासी समुदायहरुलाई विशेष रुपमा सम्बोधन गर्ने नेपालीमा शब्द छैन । संस्कृतबाट सापटी लिँदा यसलाई आदिमजाती वा गणजाती भन्न सकिन्छ । यदी कृषि समाजमा रुपान्तरण भइनसकेका मान्ने हो भने यी कविला समुह हुन् । यिनीहरुलाई घुमन्ते फिरन्ते समुदायको रुपमा बुझ्ने हो भने यीनीहरु यायावर समुदाय हुन् । तर नेपालको संविधान र आदीबासी जनजाती महासंघ दुबैले यिनीहरुलाई मगर, गुरुङ्ग र नेवार जस्तै समुदायलाई जनाउने एउटै शब्द आदीबासी जनजाती प्रयोग गरेको छ । यहाँ ट्राइवल, जनजाती, मौलिक, रैथाने, आदीबासी, कविला, राउटेगण सबै एउटै अर्थमा प्रयोग गरिन्छ ।

यसरी सबै शब्द सवैलाई प्रयोग गर्दा राउटे जस्ता ट्राइवल समुदायलाई फरक र एथार्थ रुपमा चिन्ने शब्दकै अभाव छ । फरक भनेर चिन्ने आधार भनेकै यीनीहरु जनजातीभित्रका अल्पसंख्यक, पहाडिया, लोपोन्मुख आदीबासीहरु हुन् ।

लामो अध्ययनको इतिहासमा नयाँ दृष्टिकोणको विकास :

हुन त आदीबासी, जनजाती तथा घुमन्ते समुदायको अध्ययन नयाँ होइन । ग्रिक दार्शनिक तथा इतिहासकार हेरोडोटसकै पालादेखि भिन्न समुदाय र संस्कृतिको विवरणात्मक अध्ययन सुरु भएको हो ।

अन्य इतिहास, संस्कृति लगायतका विधामा पनि यो अध्ययन चलिरह्यो । मुख्यगरी औपनिवेशिक युगमा उपनीवेशिक समाज र संस्कृतिको अध्ययन गर्ने प्रचलन महत्वपूर्ण रह्यो । तर लगभग २००० वर्षसम्म घुमन्ते समुदायलाई आदीमानवकै रुपमा या असभ्य, जंगली, अविकसितको रुपमै हेरियो ।

यी धेरै अध्ययन बाह्य दृष्टिकोण र तत्कालिक उद्देश्यपुर्तिका लागि गरिएका थिए । पछिल्लो समय आदीमबासी, आदीबासी तथा जनजातीको अध्ययनका साथै वकालत तथा पैरवी मानवशास्त्रीहरुले गर्दै आएको योगदान महत्वपूर्ण छ ।

इतिहासमा भन्दा फरक हिसावले यिनीहरुले प्रजातीय वा आदीवासी जनजातीय अध्ययनको धार बसाले । एल् एच मोर्गन, वि.मेलिनोस्की, इ वि टेलर, फ्रेन्च बउस र जेम्स फ्रेजर यसका सुरुवाती नाम हुन् ।

यस्तो अध्ययनमा सुरुमा व्याख्यात्मक तथा परिचयात्मक पद्धति प्रचलनमा रह्यो । कार्यक्षेत्रमै बसेर सहभागीतामुलक अवलोकन र समग्रताको अध्ययनलाई जोड दिनु यिनीहरुको प्रमुख योगदान हो । एल् एच मोर्गन, वि.मेलिनोस्की, रेडल्किफ ब्राउन, जेम्स फ्रेजर र इ वि टेलरले समुदायको जीवनचर्या तथा संस्कृतिको परिचय प्रस्तुत गरे । हुन त अवधारणाको हिसावले जी फ्रेडरिक मिलरले इतिहास र भुगोलमा अठारौं शताब्दीको मध्यतिर यसको थालनी गरेका हुन् । तर मानवशास्त्रीय विधिको रुपमा त्यसको करीव १०० वर्षपछि मात्र २०औं शताब्दीबाट जनजातीय अध्ययन पद्धति मुलधार बन्यो ।

क्लीफोर्ड गर्ज लगायत अन्य अन्‍तरक्रियात्मक तथा प्रतिकात्मक सिद्धान्तका अभियन्ताहरुले संस्कृतिको गहन र प्रतिकात्मक अध्ययनलाई जोड दिए । साथै यस्तो अध्ययन मुख्य गरी फ्रेन्च वाउसको सापेक्षवाद, ज्ञानको हर्मेन्युटिक्स र इपिष्टोमोलोजी, प्रत्यक्षबाद तथा इतिहासबादबाट समेत प्रभावित भयो । अझ क्लीफोर्ड गर्जको सघन व्याख्या (थिक डिस्कृप्सन) को प्रवृतिसँगै यसको अध्ययन व्यापक र महत्वपूर्ण रह्यो । यसका साथै आन्तरिक बुझाइबाट सघन रुपमा जनजातीय अध्ययन अगाडि बढ्ने क्रममा मार्भिन हेरिसको भौतिकवादी, लुइ डुमोन्ट, जेरेमी वेरेमानको अध्ययनसँगै यसमा व्यापकता आयो । त्यसका पछिल्ला नाम एन्थोनी गिडिङ्ग र डेनीएल मिलर हुन् । हाल उपसंस्कृति, औद्योगिक समुदाय मात्र होइन प्राविधिक विकास, नवउदारवाद, पुँजिवाद तथा विश्वव्यापीकरणको अध्ययनमा समेत यो महत्वपूर्ण विधिको रुपमा स्थापित भैसकेको छ । नेपालमा हामी यी नयाँ दृष्टिकोणबाट राउटे तथा अन्य आदीबासीको अध्ययन र विश्लेषणमा अझै पछि छौँ ।

आदीवासीको विकास र सम्वर्धनको वकालत :

मुख्यगरी १९औं र २०औँ शताब्दीमा आदिवासी शब्द प्रचलनमा आयो । आदिवासी भन्नाले सानो समुहमा बस्ने समतामुलक र आत्मनिर्भर समुह हुन् जसलाई चौँथो विश्व पनि भनिन्छ ।

हाल विश्वमा करिब २५ करोड जति यस्ता समुहको जनसंख्या छ । यसमा पनि घुमन्ते फिरन्ते समुदायको तथ्य यकिन छैन । यसका विविध कारण छन् । मुख्य रुपमा जनसंख्या स्थानान्तरण भइरहने, मुलधारबाट अगल तथा सामान्य पहुँचबाट टाढा, तीव्र रुपमा जनसंख्यामा परिवर्तन तथा राज्यकै गहन खोजीको कमीले यस्तो भएको मानिन्छ । मानवशास्त्री तथा संयुक्त राष्ट्रसंघीय निकायले लगभग ४ करोड यस्ता घुमन्ते समुदाय हालको विश्वमा रहेको आँकलन गर्दछन् ।

घुमन्ते समुदायको जीवन आधुनिक जीवन भन्दा पृथक र स्वतन्त्र हुन्छ । १९औँ शताब्दिकोमध्ये सम्मका आलेखहरु हेर्ने हो भने अमेजन, अष्ट्रेलिया, दक्षिण पर्वी एसिया र दक्षिण पूर्वी अफ्रिकी जंगलमा बस्ने तथा घुमन्ते जीवन बिताउने ट्राइवल आदीबासीहरुको सिमित अध्ययन भएको पाइन्छ । भारतमा भने पुर्वोतर, तथा टापुहरुमा समेत पाइने आदीबासीको सन्दर्भमा केही नयाँ अध्ययन समेत पाइन्छ । हाल विश्वमा तीन प्रकारका घुमन्ते समुदाय छन् ।

१) शिकार गर्ने र बटुल्ने
२) पशुपालक
३) धातु, औजार, खाद्यान्नतथाअन्यव्यापार गर्ने

घुमन्ते समुदायको उत्थान, विकास, संरक्षण कसरी गर्ने भन्ने दृष्टिकोण, विधि र अनुभवहरुमा विविधता छ । यहाँ संस्कृति या विकास भन्ने सवाल मात्र प्रमुख होइन । यहाँ त उनीहरुको उत्थान, संवर्धन, अधिकार, आत्मनिर्णय, सत्ता र राज्यको समेत सवाल खडा हुन्छ ।

विकासविद् मात्र होइन मानवशास्त्री तथा आदीवासी नेतृत्व स्वयम् पनि यसमा विभाजित छन् । भेरियर एड्विनले आफ्नो पुस्तकमा चार वर्गका आदीबासीको व्याख्या गर्दछन् । पूर्ण रुपमा अगल र शुद्ध समतामुलक समुदाय । त्यसैगरी निरन्तर परिवर्तनको क्रममा रहेका अन्य समुदायसँग सम्पर्कमा रहेका समुदाय । तेस्रो ठूलो संख्यामा रहेका (लभभग २ करोड) पहिचान सहितका तर अन्र्तघुलन भएका समुदाय । त्यस्तै चौथो समुदाय प्रायः नेपालका जनजाती आदीबासी जस्तै घुलित समुदाय ।

सामान्यतया आदीबासी सम्बन्धी तीन विधिहरु छन् । अगलाव (आइसोलेसन), आत्मसाथ (एसिमिलेसन) र एकीकरण (इन्ट्रिग्रेशन) । यिनीहरुको विकासका केही अनुभव पनि छन् ।

यसलाई मुख्य दुई भागमा बाँड्न सकिन्छ । एक कल्याणको विधि जसले आदीबासीका समस्या समाधान र उत्थानमा जोड दिन्छन् । अर्को विकासको अर्थराजनीतिक विधि जसले उनीहरुको बसोबास, आम्दानी र रोजगारीको व्यवस्था गर्दछन् । यससम्बन्धी भारतमा पनि विभिन्न प्रयास भएका छन् । भारतको केरेलामा भएको बसोबासको तथा अन्य विभिन्न स्थानमा भएका सामान्य कल्याण र समस्या समाधानका प्रयास ।

क) अलगाव सिद्धान्त
ख) आत्मसाथको सिद्धान्त
ग) एकिकरणको सिद्धान्त

अलगावको सिद्धान्तले यिनीहरुलाई अन्य समुदाय र प्रभावबाट अलग राख्नुपर्ने व्याख्या गर्दछन् । आरक्षण क्षेत्र या निकुन्ज क्षेत्र भित्रकै रुपमा पनि यिनीहरु व्याख्या गर्दछन् । आत्मसाथको सिद्धान्तले यिनीहरुको संरक्षण, प्रवर्धन र विकासलाई व्याख्या गर्दछन् । एकिकरणको मान्यताले अन्य समुदाय जस्तै यिनीहरुको विकासको मान्यता राख्दछन् ।

भारतमा जवहारलाल नेहरुले पाँच मान्यताको आधारमा आदीबासीको उत्थान र विकास गर्नुपर्ने व्याख्या गरेका थिए जसमा उनीहरुको संस्कृतिको संरक्षण गर्दै कल्याणकारी कार्यक्रमहरु मार्फत विस्तारै मुलधारमा ल्याउने व्याख्या छ । त्यसैगरी आदीवासीको विकाशको लागि रोय बर्मनले चार चरणको अवधारणा राखेका छन् ।
जसमा त्यो समुदायलाई तत्काल राहतको व्यवस्था गरेर सामान्य जीवनयापनको अवस्था सिर्जना गर्नेदेखि चेतनाको स्तर अभिबृद्धि गर्दै विभेदको अन्त्य गर्ने र न्यायपूर्ण समाज निर्माण गर्नेसम्म पर्दछन् । मानवशास्त्रीय विकासको कुरा समकालिन समाजमा विकासको भन्दा फरक छ । यसले संकृतिको विनाश र समुदायको आधुनिकीकरण नगरी उनीहरुलाई सशक्त बनाउनेमा जोड दिन्छ ।

बहुआयामिक महत्व :

राउटे समुदाय हाम्रो देशका गहना हुन् । उनीहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । व्यवस्थित रुपमा प्रयास गरे आर्थिक रुपमा पनि राउटेले नेपाललाई योगदान पुर्‍याउन सक्दछन् ।

यसअर्थमा अलगाव मान्यताका आधारमा हामी उनीहरुलाई जंगली जनावर जस्तै जंगल वा चिडीयाघरमा राख्न, बन्यजन्तुसरी पर्यटकलाई देखाउन, केही संस्थाको डलरको खेती गर्ने वा मागीखाने भाँडो बनाउन सकिँदैन । एकीकरणको अभ्यासमा जस्तै विश्वव्यापीकरण र पुँजीवादको चपेटामा सिमान्तीकरण र विनाशको बाटोमा धकेल्न सक्दैनौँ । तर रोग तथाभोकबाट प्रत्यक्षप्रभावमा रहेका राउटे समुदायको अध्ययन गरी त्यसको तत्कालिक तथा दिर्घकालिन उपचार खोज्नु आवश्यक छ ।

बाहविबाह, कुपोषण, मातृमृत्युदर, शिशु मृत्युदर आदि उनीहरुका तत्काल समाधान गर्नुपर्ने समस्या हुन् । सरसफाई, वातावरण संरक्षण, शिक्षा तथा आयआर्जन पनि उनीहरुमा उत्तिकै आवश्यक देखिन्छ । यही सन्दर्भमा ठोस तथा आन्तरिक बुझाइ मार्फत ती समस्याको समाधान तथा राउटे समुदायको संस्कृति संरक्षण गर्दै दिर्घकालिन विकासको योजना बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ ।

मानव विकासको यो समयमा पनि यी समुदाय अन्य स्थीर समुदायको छि छि र दुर् दुर् तथा विभेदको शिकार हुनु परेको तथा रोग भोकबाट ग्रसित हुनु परेको यथार्थ हटाउनु जरुरी छ । एकातिर उनीहरुको समुदाय र संस्कृतिको संरक्षण गर्नुपर्ने तथा अर्कोतिर उनीहरुको खानपान तथा आवास, स्वास्थ्य उपचार, शिक्षा लगायत आधारभुत मानवीय आवश्यकताको परिपूर्ति गर्नुपर्नेमा आवश्यकता स्वयं राउटे समुदायको समेत माग रहँदैआएको छ ।

(लेखक त्रिविवि अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसका आंशिक प्राध्यापक तथा अधिकारकर्मी हुन् ।)