मनसुनजन्य विपद्का पीडितले रकम पाएनन्
![]()
रुकुम पश्चिम — मनसुनजन्य विपद्का कारण पीडित बनेकाहरूले डेढ वर्ष बित्दासमेत राहत रकम पाउन सकेका छैनन् । बाढी, पहिरो, आगलागी कारण घरमा क्षति भई पुनर्निर्माण र मर्मत गराएका पीडितले अझै रकम नपाएका हुन् ।
रकम भुक्तानीका लागि २०७७ असोजमै प्रक्रिया पूरा गरी प्रदेश र संघीय सरकारलाई फाइल बुझाइसकिएको छ । घरको पुनर्निर्माण तथा मर्मतका लागि पीडितले पहिलो किस्ताबापतको ७५/७५ हजार रुपैयाँ प्राप्त गरेका थिए । त्यसपछिको दोस्रो र तेस्रो किस्ताको रकम भने अझै दिइएको छैन । तीनवटै तहका सरकारले पीडितको घर बनाउन बजेट दिने भनेका थिए । तर पीडितले स्थानीय सरकारबाट मात्र रकम पाएका छन् ।
जिल्लामा ८९ घर पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने देखिए पनि ८१ घर परिवारले मात्र कागजातसहित घर पुनर्निर्माण गर्न निवेदन दिएका थिए । त्यसमध्यका ७८ घर पुनर्निर्माण हुने र ३ घरको मर्मत गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार पहिलो किस्ताको रकम ७८ मध्ये ७४ र मर्मत गर्नुपर्ने ३ मध्ये २ घर परिवारले पहिलो किस्ताको रकम पाएका छन् ।
संघीय र प्रदेश सरकारको बेवास्ताको कारण पुनर्निर्माणको काम सकिँदा पनि लाभग्राहीहरूले दोस्रो र तेस्रो किस्ताबापतको रकम पाउन सकेका छैनन् । संघ र प्रदेश दुवैले उक्त दोस्रो र तेस्रो किस्ताबापतको रकम नपठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संघले १ करोड ३५ लाख ५० हजार र प्रदेशले १ करोड ५७ लाख ५० हजार रुपैयाँ पठाउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए । उनका अनुसार सबै रकम जिल्ला प्रशासन कार्यालयमार्फत दिने भनिएको छ ।







परिवर्तन संवाददाता
९ फाल्गुन २०७८, सोमबार १०:४४