Loading... आजः २०८१ बैशाख ३, सोमबार

अभिनेत्री कंगनाको अफिस डोजर लगाएर भत्काइयो

नयाँदिल्ली : बलिउड अभिनेत्री कंगना रनउतको मुम्बइमा रहेको अफिस यहाँको महानगरले डोजर लगाएर भत्काएको छ ।

कंगनाको अफिस अवैध रुपमा बनाएको कारण देखाउँदै बृहन्मुम्बई महानगरपालिकाले डोजर चलाउँदै कार्यालय भत्काइदिएको हो । महानगरले यसअघि नै २४ घन्टे अल्टिमेटमसहित बीएमसीले नोटिस टाँसेको थियो । कंगनाले यस घटनामा विरोध जनाउँदै अदालतमा उजुरी समेत दिएकी छन् । ट्वीटरमा लेख्दै उनले आफूले यस घटनामा महानगरविरुद्ध उच्च न्यायालयमा उजुरी दिएको उल्लेख गरेकी छन् ।

साथै कंगनाले आफ्नो अफिस मन्दिर समेत भएको भन्दै यसलाई फेरि निर्माण गर्ने भन्दै सरकारलाई चेतावनी दिएकी छन् । कंगनाको केही सातादेखि नै महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरेसँग विदविवाद हुँदैआएको थियो । सुशान्त सिंह राजपुतको मृत्यु र रिया चक्रवर्तीको पक्राउबारे कंगनाले सार्वजनिक रुपमा विवादित अभिव्यक्ति दिँदैआएकी छन् ।

महाराष्ट्र सरकारका मन्त्री तथा सांसदले भने उनीविरुद्ध धम्की दिएका थिए । सोही कारण कंगनालाई केन्द्र सरकारले १० जना सुरक्षाकर्मीको पहरा समेत दिएको छ ।