कर्णालीमा टिकट लिन काम लाग्यो गुटगत राजनीति

सुर्खेत – कर्णालीका केही ठाउँमा उम्मेदवार बन्नका लागि आफन्तहरुको दबाब काम लागेको छ। नातागोतादेखि गुटमा लागेकै कारण टिकट पाउनेको संख्या ठूलो रहेको छ। जाजरकोट जुनिचाँदे गाउँपालिकाकी उम्मेदवार शिवा आचार्य (बस्नेत) नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य रामदीप आचार्य र मायाप्रसाद शर्माकी नातिनी हुन्।
उनी गुटको हिसाबले माओवादी नेता तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतसँग नजिक छन्। आचार्य योभन्दा पहिला गाउँपालिका कार्यवाहक अध्यक्ष भएर गाउँपालिका चलाएको अनुभव रहेको छ।
सांस्कृतिक परिवारमा काम गर्ने कलाकारका रुपमा रहेकी आचार्य शान्ति प्रक्रियासँगै सक्रिय राजनीतिमा लागेकी थिइन्।
जुनिचाँदेमा माओवादीले स्थानीय तहको चुनाव लड्दा भूगोलको समीकरण मिलाउनका लागि आचार्य परिवारको चर्को दबाबपछि उनलाई गाउँपालिकाको उपाध्यक्षको टिकट दिइएको थियो। त्यसपछि माओवादीको राम्रो पकड रहेको जुनिचाँदेमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जित्यो।
गाउँपालिकाका अध्यक्षलाई अख्तियारले घुससहित फेला पारेको भन्दै कारबाही गालेपछि आचार्य कावाध्यक्ष चलाएकी थिइन्। अहिले उनै शिवा गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेकी छिन्।
त्यस्तै, दैलेखको नारायण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकी साली निर्मला खड्कालाई टिकट दिएको छ । २०७४ को स्थानीय निर्वाचनमा उनी नारायण नगरपालिका–७ को वडा सदस्य निर्वाचित भएकी थिइन् । कांग्रेस नेता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाहीले दैलेखको चामुन्डा बिन्द्रासैनी नगरप्रमुखमा उम्मेदवारी पाएका छन् ।मन्त्री शाहीकै दबाबमा उनलाई उम्मेदवार बनाएको आरोप छ।
दैलेखकै ठाटीकाँध गाउँपालिकामा एमाले प्रदेश कमिटी अध्यक्ष विनोद शाहले श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्षको उम्मेदवार बनाएका छन्। शाह जिल्ला समन्वय समितिकी उपप्रमुखसमेत रहेकी उनी निर्वाचित भएदेखि ५ वर्षसम्म गाउँमा नआएको आरोप लाग्दै आएको छ।
नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काकी बहिनी तप्ता थापा पनि एमालेबाट नगरपालिकाको उम्मेदवार बनेकी छन् ।
रुकुम पश्चिमको मुसीकोट नगरप्रमुखमा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका पति वसन्तकुमार शर्माले टिकट उम्मेदवार बनाएको छ । उम्मेदवार सिफारिस भएका शर्मा मुसीकोटका वर्तमान नगरप्रमुख देवीलाल गौतमका दाइका छोरा हुन्।
जाजरकोट बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह पार्टी सभापति बेदराज सिंहका नजिकैका नातेदार हुन्। यो भन्दा अगाडी शाह गाउँपालिकाको अध्यक्ष नै थिए। माओवादीबाट जाजरकोटकै भेरी नगरपालिकाको उपमेयरकी उम्मेदवार रहेकी कृष्ण शर्मा माओवादी नेता रामदिप आचार्य , मायाप्रसाद शर्माकी नातिनी नै हुन्। उनका पति यो भन्दा अगाडी नेकपा (माओवादी केन्द्र) जाजरकोटका अध्यक्ष थिए। जुनिचाँदे गाउँपालिकाकी अध्यक्षकी उम्मेदवार शिवा र कृष्ण सोहदर दुइ बैनी रहेकी छिन्।
नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री नरेश भण्डारीका बाबा गोठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पुनः अध्यक्षका उम्मेदवार भएका छन्।
हिमा गाउँपालिका अध्यक्षका उम्मेदवार अमरजंग शाही माओवादी नेता गोमा कुवारका भाइ नाता पर्दछन्। गोमाकै श्रीमान् बीरबहादुर कुवर तातोपानी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रहेका छन्। तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकाय सांसद गजेन्द्रबहादुर महतका नातेदार पर्दछन्।
नेकपा एमालेनिकट शिक्षक तथा वुद्धिजिवी परिषदका गोरखबहादुर सिंहकी श्रीमती गिता सिंह जाजरकोटको बारकोट गाउँपालिका उपाध्यक्षका उम्मेदवार हुन्। एमालेका केन्द्रीय सदस्य डम्वर सिंहका भान्ज भक्तबहादुर बस्नेत वडाध्यक्षका उम्मेदवार हुन्।







परिवर्तन संवाददाता
१४ बैशाख २०७९, बुधबार १९:३८