Loading... आजः २०८२ जेष्ठ ७, मंगलवार

कांग्रेसको अवरोधपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित

सुर्खेत-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेश सभाको आजको बैठकको सुरुमा नेपाली कांग्रेस प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने धारणा राखेका थिए ।

कांग्रेसको धारणापछि जवाफका लागि आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी रोष्टममा पुग्ने बित्तिकै कांग्रेस प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरेका हुन् । सरकारका मन्त्रीले जवाफ दिइरहँदा र सभाको कामकारबाही चलिरहेका बेला बैठक अवरोध गर्नु प्रदेशसभा नियमावली विपरीत हो भन्दै सभामुख नन्दा गुरुङले नियमापत्ति मात्र जनाउन पाइने तर अवरोध गर्न नपाइने जिकिर गरे पनि कांग्रेसले आफ्नो अडान छाडेको थिएन ।

त्यसैबिच, सत्तापक्षका प्रदेश सभा सदस्य विन्दमान विष्टले प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम २१ को दफा ६ र २२ को दफा ‘च’ अनुसार नियम उलङ्घन गरेको भन्दै नियमापत्ति जनाएइका थिए।

कांग्रेस प्रदेश सभा सदस्य बेदराज सिंहले सत्तापक्षका सदस्यले प्रदेश सभा नियमावलीको नियम ‘च’ देखाएर प्रतिपक्षीलाई नधम्क्याउन चेतावनी समेत दिईएका थिए ।

उहाँले भन्नुभयो, “दलीय धारणा राख्न पाइन्छ, त्यही व्यवस्था बमोजिम आफ्नो अधिकार प्रयोग गरेका छौँ । सरकारले जवाफमा अट्काउनभन्दा दस्ताबेजीकरण गरेर आफ्ना माग सम्बोधन गर्न आग्रह गरे । बजेट पुनर्लेखन नभएसम्म सदनका कुनै पनि कारबाही अगाडि बढ्न नसक्ने कांग्रेसको अडानपछि सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित भएको सूचना रेकि थिईन। रासस