Loading... आजः २०८२ पुष ११, शुक्रबार

सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण सुरु

सुर्खेत – विमानस्थल परिसरभित्र मानवीय सहायता तथा विपद् उद्धारका लागि विशेष पोखरी निर्माण सुरु गरिएको छ।

कर्णाली प्रदेश सरकारको पहलमा नेपाली सेनाको सहकार्यमा निर्माण हुन लागेको उक्त पोखरी प्राकृतिक तथा मानवीय विपद् व्यवस्थापनमा महत्वपूर्ण हुने विश्वास गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमका अनुसार यो पोखरी विशेषगरी आगलागी नियन्त्रणका लागि उपयोगी हुनेछ। हेलिकप्टरमार्फत पानी भरेर जंगलमा लाग्ने डढेलो तथा अन्य आगलागीका घटनामा तत्काल प्रयोग गर्न मिल्ने ‘बम्बी बकेट’ प्रविधिका लागि पोखरी निर्माण गरिँदैछ।

उक्त पोखरी करिब ९७ फिट लामो र १३ फिट गहिरो हुने बताइएको छ। निर्माणको कुल लागत ९९ लाख ९६ हजार रुपैयाँ रहनेछ। पोखरी निर्माण सम्पन्न भएपछि यसलाई नेपाली सेनालाई हस्तान्तरण गरिने जनाइएको छ।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पोखरी निर्माण कार्यको औपचारिक शुभारम्भ गरेका छन्। शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले पछिल्लो समय बढ्दो सहरीकरणका कारण आगलागीका घटना बढिरहेको उल्लेख गर्दै यस्ता संरचनाले विपद् पूर्वतयारीमा ठूलो टेवा पुर्‍याउने बताए। उनले प्रदेश सरकारले विपद् न्यूनीकरणका लागि नेपाली सेना, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै आएको पनि बताए।

कार्यक्रममा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, पश्चिम पृतनाका सहायक रथी संजयकुमार रञ्जित, नं. ४ बाहिनी नेपालगञ्जका बाहिनीपति दिनेशजंग शाह, कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी माधव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।