पत्रकारिताका नाममा गैरजिम्मेवार गतिविधि नगर्न महासंघ सुर्खेत शाखाको आग्रह

कृष्ण शर्मा,पुष १३ सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले पत्रकारिताका नाममा गैरजिम्मेवार गतिविधि नगर्न आग्रह गरेको छ ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय पत्रकारिताको नाममा देखिएका केही गैरजिम्मेवार गतिविधिले पत्रकारिता क्षेत्रको विश्वसनीयता र गरिमामाथि प्रश्न उठिरहेको उल्लेख गरिएको छ ।
अध्यक्ष सुशील राज शर्मा द्धारा हस्ताक्षरित विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्दै समाजलाई उत्तेजित बनाउने, राष्ट्रसेवक कर्मचारी, नेपाल प्रहरीलगायत सुरक्षा निकायको मनोबल गिराउने, व्यापारी तथा व्यवसायीमाथि अनावश्यक दबाब दिने र आर्थिक लाभका लागि समाचार प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको जनाइएको छ ।
महासंघका अनुसार पत्रकारिताको आधारभूत ज्ञान, आचारसंहिता र पेशागत शिष्टाचारको पालना नगरी सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत भ्रामक, विभेदकारी र द्वेष फैलाउने सामग्री प्रकाशन–प्रसारण हुनु चिन्ताजनक छ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले पत्रकार आचारसंहिता र सञ्चारसम्बन्धी ऐन–नियमको अध्ययन र पालना गर्दै स्पष्ट परिचय खुलाइ, मर्यादाभित्र रहेर मात्र सञ्चारकर्म गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
महासंघले समाजलाई उत्तेजित नभई , सत्यको पक्षमा उभिएर खबरदारी गर्नु नै पत्रकारिताको मूल उद्देश्य भएको स्पष्ट पारेको छ ।








परिवर्तन संवाददाता
१३ पुष २०८२, आईतवार ०६:१९