नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादले महाधिवेशनमा अन्योल

नेपाली कांग्रेसले कानूनी वैधता सकिनैलाग्दा गर्न लागेको पार्टी महाधिवेशन क्रियाशील सदस्यता विवादले अन्योलमा परेको छ।
क्रियाशील सदस्यता विवाद चुलिएसँगै महाधिवेशन निम्ति पूर्व निर्धारित कार्यतालिका प्रभावित भइरहेको छ। महाधिवेशनको कार्यतालिका अन्तर्गत यही साउन १२ गतेदेखि तल्लो तहको अधिवेशन शुरू गर्ने भनिएको थियो, जुन हुन सकेन।
भदौ १६ देखि १९ गतेसम्म गर्ने तय भएको महाधिवेशन पनि प्रभावित हुने देखिएको छ . रमेश लेखक नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले विवाद रहेका जिल्ला बाहेकको विवरण मात्रै नेतृत्वलाई बुझाएपछि शीर्ष नेताले विवाद समाधानको प्रयास गरेपनि समस्या सुल्झन सकेको छैनपार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा केही शीर्ष नेताहरू क्रियाशील सदस्यताको विवाद समाधानका लागि केही दिनदेखि छलफलमा भएपनि समाधान उन्मुख देखिएको छैन।
समितिले डेढ महिना लगाएर काम गर्दा पनि धनुषा, सर्लाही, बारा र सप्तरीमा जिल्लाभरकै विवाद र सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाण्डौमा केही वडाहरूको विवाद सुल्झाउन नसकेकाले समाधानको जिम्मा नेतृत्वलाई सुम्पिएको छ. समितिले सुझावसहित साढे आठ लाख क्रियाशील सदस्यको विवरण नेतृत्वलाई बुझाएको थियो।शीर्ष नेताले समितिको प्रतिवदेन पाएको एक हप्तासम्म औपचारिक,अनौपचारिक छलफल गरेर पनि क्रियाशील सदस्यता विवाद छिट्टै टुंगो लगाउने सहमति मात्रै गरेका छन्।
काँग्रेसको आगामी चौधौँ महाधिवेशन अनिश्चितजस्तै बनेको भनिरहेको बेला शीर्ष नेताले विवाद मिलाउन तदारुकता देखाएका छन्।पार्टीको क्रियाशील सदस्यताको विवादको कारण महाधिवेशन प्रभावित बनेपछि शीर्ष नेताले केही दिनदेखि समस्या सुल्झाउने प्रयत्न गरिरहेका छन्। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले आउँदो दुई÷तीन दिनभित्र विवादित जिल्लाको समस्या समाधान गरेर महाधिवेशन प्रक्रियामा जाने तयारीमा छन्।
पार्टीका पूर्व उपसभापति एवम् शीर्ष नेता गोपालमान श्रेष्ठले नेतृत्व विवाद मिलाउन खटिरहेको जानकारी दिए। सभापति देउवासहित शीर्ष नेताहरूले छलफल गरिरहेको र केही दिनभित्रै समाधान निस्कने उनको भनाइ छ।
यस्तै, क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेल पनि आफूहरूले छिनोफानो गर्न नसकेको जिल्लाको विवाद समाधान नेतृत्वले गर्ने गरी गृहकार्य गरिरहेको जिकिर गरेका छन्।विवाद भएका केही जिल्लाको विवाद केही दिनमा समाधान हुने उनले बताए। कांग्रेसमा शीर्ष नेताले युवालाई गुटमा लाग्न प्रेरित गरेको र युवाले पनि अघिल्लो पुस्ताको गुटलाई मलजल गर्न तयार देखिएकाले क्रियाशील सदस्यता विवाद देखिएको हो।







परिवर्तन संवाददाता
२१ श्रावण २०७८, बिहीबार १५:११