सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती मनाइँदै

संविधानसभाबाट संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । उनको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको थियो ।
विद्यार्थीकालदेखि नै कोइराला राजनीतिमा क्रियाशील रहेका थिए । विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । वि।सं २०१७ पुस १ गतेको राजनीतिक घटनापछि प्रवासमा रहँदा कोइराला नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका थिए । वि।सं २०२५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बिपी कोइराला सुन्दरीजल बन्दीगृहबाट छुटेर उपचारका लागि भारत जानुभएपछि बिपीको निर्देशनमा प्रजातन्त्र पुनःस्थापनाका लागि उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।
पार्टीको केन्द्रीय सदस्यदेखि महामन्त्री हुँदै कोइराला कांग्रेसको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । वि।सं २०७० मङ्सिर ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचनमा उनकै नेतृत्वमा नेपाली काँग्रेस सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको थियो । सो निर्वाचनपछि देशको नेतृत्व गर्नुभएका कोइराला सादगी र सन्त नेताका रुपमा नेपाली राजनीतिमा स्थापित भएका थिए । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।







परिवर्तन संवाददाता
२८ श्रावण २०७८, बिहीबार १५:२२