देश ठग्नेहरूलाई एक साताभित्र ठेगान लगाउँछु : मन्त्री आले
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहीको दायराभित्र ल्याएर ठेगान लगाउने बताएका छन्।
सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस– २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले यस्तो बताएका हुन्।
कार्यक्रममा उनले आजसम्म देशलाई ठग्नेहरुका विरुद्धमा आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साताभित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताए।
उनले भने, ‘जतिपनि मैले कामको थालनी गरेको छु । मातृभुमिलाई साक्षी राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु। यो ट्रेलर मात्रै हो अब तपाईहरु एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु।’
अडियोबारे भने – बोल्दा केही तलमाथि भयो
मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताए। उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गरे। बोल्दा तलमाथि भएको भए पनि आफ्नो मनमा कुनै पाप नभएको उनले प्रष्ट पारे।
आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एकपटक त्यस्तो बोल्न पुगेको भए पनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनले बताए। सो अडियो पूर्ण सत्य नभएको उहाँले प्रष्टीकरण दिए।
उनले भने, ‘मैले देश र जनताप्रति उत्तरदायी हुनेगरी जनताको शिर निहुरिने गरी मैले कहिल्यै काम गरेको छैन। यहाँहरुलाई थाहा छ, पाँच महिना मेरो कार्यकार पूरा हुँदैछ। बतासदेखि लिएर ठूला पाँच तारेसम्मले अहिलेसम्म राज्यको कर तिरेको छैन। राज्यको कर तिर्नुपर्छ भनेर मैले पटक पटक ताकेता गर्दाखेरी पनि सुनुवाइ भएन। र विगतको सरकारका पालामा भएका विकृतिहरु, त्यो फोहोरको डङ्गुरहरु हटाउनको लागि म लागिराखेको छु। म मगरको जनजातिको छोरो। बोल्दाखेरी तलमाथि पर्न जाला तर मेरो मनमा कुनै पाप छैन। मेरो रफ्तारलाई कमी गर्नको लागि कुनै तत्वहरुले मलाई उत्तेजित पारेर, मेरा पछि लागेर म पनि एउटा मानव हुँ कतिपय ठाउँमा गल्ती हुन सक्छ।
मन्त्री आलेले आफूमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमी भए पनि आत्मा पवित्र रहेको बताए।







परिवर्तन संवाददाता
९ फाल्गुन २०७८, सोमबार १८:१०