Loading... आजः २०८२ पुष ४, शुक्रबार

गभर्नर अधिकारीको रिट सर्वोच्चको संयुक्त बेञ्चमा

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको पेसी सर्वोच्च अदालतको संयुक्त इजलासमा परेको छ।

आज तोकिएको पसी न्यायाधीशहरू सपना प्रधान मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

आफूमाथि छानबिन गर्ने जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने पक्षमा छलफल गर्न दुवै पक्षलाई वैशाख १३ गते छलफलमा बोलाउन समेत आदेश दिएको थियो।

विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए।

सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारी वैशाख ७ गतेदेखि नियमित काममा फर्किएका छन्।

थाहा खबर