Loading... आजः २०८२ पुष ८, मंगलवार

स्थानीय तहमा उम्मेदवारी अपडेट : ५४ हजार नाघ्यो

काठमाडौं : स्थानीय तहको चुनावका लागि मनोनयनको अन्तिम दिन आज (सोमबार) साँझसम्ममा ५० हजारभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार देशभरिका ७ सय ५३ स्थानीय तहका विभिन्न पदका लागि बेलुकी ६ बजेसम्म ५४ हजार १ सय ५० जनाको उम्मेदवारी परेको छ। मनोनयनको दर्ता हुने क्रम जारी छ।

आयोगले साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको भएपनि उक्त समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेका उम्मेदवारले मनोनयन दर्ता गराउन पाउने आयोगले जनाएको छ। आयोगका अनुसार साँझ ५ बजेसम्ममा भने महानगर‚ उपमहानगर र नगरपालिकाका प्रमुख पदमा १ हजार ६ सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने गाउँपालिका अध्यक्षका लागि १ हजार ६ सय ६ जनाले उम्मेदवारी दिएका छन्।

यस्तै उपप्रमुखमा ९ सय ५२ र उपाध्यक्षमा १ हजार ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षका लागि १२ हजार १ सय ५१, महिला सदस्यका लागि ७ हजार ५ सय ९९, दलित महिला सदस्यका लागि ६ हजार ६ सय ३७ र सदस्यमा १६ हजार ४ जनाले उम्मेदवारी दर्ता गराएका आयोगले जनाएको छ। थाहाखबर