Loading... आजः २०८१ बैशाख १८, मंगलवार

नेपालकै प्रस्तावमा एमसीसी आएको हो : गृहमन्त्री खाँड

काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन्।

बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।

उनले एमसीसी प्रस्ताव पास हुनु नेपालका लागि ज्यादै ऐतिहासिक र महत्वपूर्ण भएको उल्लेख गरे। यस परियोजनाले नेपालमा गरिबी निवारण र नेपालमा  रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम, बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम बारुद र सेना नआउने जिकिर गरे। गृहमन्त्री खाँणले पूर्ववर्ती सरकारले करिव ४ वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको आरोपसमेत लगाए।

उनले एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली कांग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताए। यो परियोजनाले नेपालको जलविद्युतको विकासका लागि धेरै ठूलो आयाम स्थापित गर्ने दाबीसमेत गरे।

गृहमन्त्री खाँणले अहिले नेपाललाई अर्थतन्त्रको समस्या भएकाे बताए। उनले अर्थतन्त्रलाई उकास्न पेट्रोलियम पदार्थको आयात कम गरी विद्युतीय साधनमा जोड दिनुपर्ने बताए।

गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनका लागि टिकट दिने क्रममा अनियमितता भए त्यसको अनुसन्धान हुने र कारबाही गरिने प्रतिवद्धता जनाए।

उनले स्थानीय तह निर्वाचनमा कतै त्रुटी र कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने विश्वास पनि व्यक्त गरे।

उनले गठबन्धनलाई नेपाली कांग्रेसको महाधिवेशनले पनि स्वीकारेको भएकोले स्थानीय तहको निर्वाचनमा केन्द्रले गरेको निर्णयलाई स्वीकारेर अघि बढ्न पनि पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।