वीरेन्द्रनगर नगरपालिकामा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा १ सय ९३ काे मताअन्तर
सुर्खेत- कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। अहिलेसम्मको मतगणनाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ।
वीरेन्द्रनगरमा कांग्रेसबाट मेयर र माओवादी केन्द्रबाट उपमेयर उम्मेदवार छन्। एमाले, राप्रपा, एकीकृत सामाजवादी लगायत दलहरू दुवै पदमा एक्लै लडिरहेका छन्।
अहिलेसम्मको गणनाअनुसार एमालेकी मेयर उम्मेदवार मोहनमाया भण्डारी कांग्रेसका उपेन्द्रबहादुर खड्काभन्दा १ सय ९३ मतले अगाडि छन्। भण्डारीले १२ हजार ७३३ मत ल्याएकी छन् भने खड्काले १२ हजार ५ सय ४० मत पाएका छन्। राप्रपाका उम्मेदवार मुकुन्दश्याम गिरीले ६ हजार ९ सय ८९ मत पाएका छन्।
मतगणना सकिएका १३ मध्ये ८ वडामा एमालेले जितेको छ भने ५ वटामा कांग्रेसले जितेको छ। मतगणना सकिएका वडाहरू १, २, ३, ४, ५, ६, ७, ११, १२, १३, १४, १५ र १६ हुन्। तीमध्ये १६, १४, ११, १२, ५, ४, ३ र २ मा एमालेले वडाध्यक्ष जितेको छ भने १, ६,७, १३ र १५ मा कांग्रेसले जितेको छ।







परिवर्तन संवाददाता
४ जेष्ठ २०७९, बुधबार २०:१५