Loading... आजः २०८१ बैशाख १७, सोमबार

एन्फा कार्यसमितिको बैठक बोलाउन माग

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)मा पुन अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्ध गुटबन्दी भएको छ। नेम्वाङलाई अल्पमतमा पार्दै बहुमत कार्यसमिति सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेसँगै एन्फा विवाद पुनः शुरु भएको हो।

बहुमत सदस्यले हस्ताक्षर गरेको पत्रमा ३९ (२) बमोजिम एक तिहाइ पदाधिकारीले कार्य समितिको बैठक माग गरेकाले अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्ने भएकाले सोहीअनुसार बैठक बोलाउन आग्रह गरिएको हो।

पत्रमा फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व, विधान बमोजिम आवश्यक समिति तथा विभिन्न पदाधिकारी नियुक्ति, फिफा विश्वकपमा नेपालले पाएको टिकट र राष्ट्रिय तथा सहिद स्मारक लिग लगायत विषयमा छलफल गर्नुपर्ने माग निवेदकको रहेको छ।

बैठक माग गर्नेमा उपाध्यक्षत्रय विराटजंग शाही, दीर्घबहादुर केसी, दीपक खतिवडा तथा सदस्यहरूमा महेन्द्र क्षेत्री, मनिराज विष्ट, मनीष जोशी, रूपेश अधिकारी, भरतबहादुर बुढ थापा,  रवीन्द्र चन्द,  रमेश व्यञ्जनकार, सरिला श्रेष्ठ र टीकाराम लामा रहेका छन्।

यसअघि अध्यक्षले केन्द्रीय समितिमा छलफलै नगरी एशियाली फुटबल महासंघ (एएफसी) को निर्वाचनमा अध्यक्ष पंकजविक्रम नेम्वाङले सदस्यको उम्मेदवारी दर्ता गराएपछि अन्य एन्फा पदाधिकारी रुष्ट बनेका थिए।

त्यसपछि तीन उपाध्यक्ष सहित १४ जनाले नेम्वाङ उम्मेदवारी खारेजीको मागसहितको पत्र शुक्रबार एएफसीलाई इमेल गरेका थिए।