काँग्रेसको प्राथमिकता निर्वाचन हो‚ संसद् पुनःस्थापना होइन ; देउवा

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन भएको बताएका छन्।
शुक्रवार तीन ठूला राजनीतिक दलहरूको शीर्ष नेताहरूसँग भेट गर्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भेटमा देउवाले उक्त कुरा प्रष्टयाएको जानकारी दिए। उनीसँगको भेटबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खरेलले सभापति देउवाले नेपाली काँग्रेसको प्राथमिकता संसद् पुनःस्थापना नभएको प्रष्ट पारेको बताए।
उनले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको पनि जानकारी दिए। त्यस अवसरमा सभापति देउवाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न नेपाली काँग्रेसले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
सञ्चारमन्त्री खरेलले भने, ‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको प्राथमिकता चाहिँ निर्वाचन नै हो। नेपाली काँग्रेसको प्राथमिकता संसद् पुनःस्थापना होइन भनेर प्रष्टसँग बताउनुभएको छ। निर्वाचनको वातावरण बनाउनका लागि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ।’
सरकारले निर्वाचन गराउन प्रमुख तीन दलका शीर्ष नेताहरूसँग भेटवार्तालाई निरन्तरता दिँदै आएको छ।
यसै क्रममा भोलि ९शनिवार० प्रधानमन्त्री सुशीला कार्कीले पनि देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। थाहाखबर बाट






परिवर्तन संवाददाता
११ पुष २०८२, शुक्रबार १६:१७