दैलेखका नवविवाहित जोडीको रहस्यमय मृत्यु

बुधबार बिहान भैरव सामुदायिक वन क्षेत्रभित्र एकै रुखमा झुण्डिएको अवस्थामा फेला परेका युवायुवती दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ की करिब २० वर्षीया सुनिता भण्डारी र दैलेखको ठाटिकाँध गाउँपालिका–१ का करिब २२ वर्षीय सुरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार मृतक दुवै जना पछिल्ला चार दिनदेखि परिवारको सम्पर्कमा थिएनन्। घाँस काट्न गएका स्थानीयले उनीहरूलाई झुण्डिएको अवस्थामा देखेपछि वन उपभोक्ता समिति र प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलबाट सुसाइड नोट जस्तो देखिने कागज, एक थान मोबाइल फोन तथा केही खानेकुरा फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरू केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएको खुलेको छ।
हाल दुवै जनाको शव प्रदेश अस्पताल सुर्खेतमा पोस्टमार्टमका लागि राखिएको छ। आफन्तहरू आइपुगेपछि पोस्टमार्टम प्रक्रिया अघि बढाइने र घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








परिवर्तन संवाददाता
१६ पुष २०८२, बुधबार १८:४१