आज गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार मनाइँदै

काठमाडौं – आज गुरुङ समुदायले आफ्नो नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। प्रत्येक वर्ष पुस १५ गते मनाइने यस पर्वलाई गुरुङ समुदायले सांस्कृतिक पहिचान र परम्पराको महत्वपूर्ण दिनका रूपमा लिने गर्छन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भन्ने बुझिन्छ। यही कारण तमु ल्होसारलाई नयाँ वर्षको प्रारम्भका रूपमा मनाइने गरिन्छ। विशेषगरी गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व विशेष महत्वका साथ मनाइन्छ। यी क्षेत्रहरूमा सूर्यको ताप सबैभन्दा पहिले पर्ने विश्वासका आधारमा पुस १५ गते तमु ल्होसार मनाउने चलन रहेको छ।
परम्पराअनुसार पुस १५ को रात वर्षकै सबैभन्दा लामो रात हुने र त्यसपछिका दिनहरू क्रमशः लामो हुँदै जाने विश्वास गरिन्छ। यही कारण पनि यस पर्वलाई नयाँ सुरुवातको प्रतीकका रूपमा लिइन्छ। तमु ल्होसारका अवसरमा गुरुङ समुदायले परम्परागत भेषभूषा लगाई नाचगान, सांस्कृतिक कार्यक्रम तथा पारिवारिक भेटघाट गर्ने गर्छन्।
यस अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले तमु ल्होसारको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्।
तमु ल्होसारले आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।







परिवर्तन संवाददाता
१५ पुष २०८२, मंगलवार ०७:२१