Loading... आजः २०८३ बैशाख ६, आईतवार

बंगुरपालनबाट मनग्य आम्दानी

 

सल्यान – कपुरकोट गाउँपालिका-३ कपुरकोटका भक्तबहादुर घर्तीले बंगुरपालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन्। वार्षिक १८ लाख रूपैयाँ आम्दानी गर्दै आइरहेको उनले बताए।

आठ वर्षअघि दुई वटा पाठाबाट व्यवसाय सुरु गरेका उनको फार्ममा अहिले साना ठूला गरी ३० वटा बंगुर छन्। ‘मसँग १० वटा माउ बंगुर छन्‚’ उनले भने‚ ‘एक वर्षमा राम्रो स्याहार र दाना पायो भने तीन पटकसम्म पाठापाठी दिन्छ। एउटै बंगुरले १० देखि १२ वटासम्म पाठापाठी दिन्छ।’

भक्तबहादुरका अनुसार बंगुरपालनबाट छोटो समयमै राम्रो आम्दानी गर्न सकिन्छ। एउटै पाठापाठी चारदेखि पाँच हजार रूपैयाँसम्म बिक्री हुने भएकाले बंगुरपालनबाट राम्रो आम्दानी हुने उनको अनुभव छ।

एक महिनाअघि मात्र १२० वटा पाठा पोखरा बिक्री गरेको भक्तबहादुरले जानकारी दिए। मासुका लागि भन्दा पनि पाठापाठीको माग बढी हुने गरेको उनले बताए। भक्तबहादुरले काम यो गर्न हुने, त्यो गर्न नहुने भन्दा पनि आफू जेबाट सफल भइन्छ त्यही काम गर्ने सुझाव दिन्छन्।

कपुरकोट-२ की तारादेवी घर्तीले पनि बंगुरपालनबाट वार्षिक करिब १२ लाख रूपैयाँ आम्दानी गर्दै आएकी छन्। थोरै लगानीबाट पनि राम्रो आम्दानी हुने भएकाले बंगुरपालनमा लागेको उनले बताइन्।

‘बंगुरपालनबाट वार्षिक १२ लाख रूपैयाँ जति आम्दानी हुन्छ‚’ उनले भनिन्‚ ‘त्यसमा ५ लाख जति खर्च हुन्छ होला बाँकी चोखो आम्दानी हो।’

बंगुर बिक्रीका लागि बजारको समस्या नभएको उनको अनुभव छ। सिस्नो खाएको बंगुर राम्रो हुने भएकाले सल्यानबाट खोजीखोजी पाठापाठी व्यापारीले लिने गरेको तारादेवीले बताइन्। सल्यानमा उत्पादित बंगुर पोखरा, बुटवल, काठमाडौं, धनगढी, नेपालगञ्ज र दाङ निर्यात हुने गरेको छ।