Loading... आजः २०८३ बैशाख १८, शुक्रबार

वन डढेलो व्यवस्थापन सप्ताहः बराहतालमा सुरक्षा उपकरण सामग्री वितरण

चैत १, सुर्खेत- वन क्षेत्रमा हुन सक्ने सम्भावित डढेलो तथा आगलागीको जोखिम न्यूनीकरण गर्न सुर्खेतको बराहतालमा सुरक्षा उपकरण तथा अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको छ।

वन डढेलो व्यवस्थापन सप्ताह २०८२ को अवसरमा डिभिजन वन कार्यालय भेरीद्वारा आयोजित कार्यक्रममा उक्त सामग्री वितरण गरिएको हो।

सेभ द चिल्ड्रेन र समाज जागरण केन्द्र (स्याक) नेपालको साझेदारीमा सञ्चालन भइरहेको माइ फरेस्ट चाइल्ड परियोजना अन्तर्गत बराहताल गाउँपालिका र सब–डिभिजन वन कार्यालयलाई एक–एक सेट सुरक्षा उपकरण तथा अग्नि नियन्त्रण सामग्री उपलब्ध गराइएको हो।

समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यका अनुसार १४ लाख ६८ हजार ३ सय ८ रुपैयाँ ४४ पैसा बराबरका सामग्री वितरण गरिएको हो। उक्त सामग्रीमा आगो प्रतिरोधी कपडा, बुट, हेल्मेट, पञ्जा, सुरक्षा चस्मा, फिल्टर मास्क, हेडलाइट, फायर रेक, पुलास्की उपकरण, हो–रेक, फायर सवेल, पोर्टेबल ब्याकप्याक वाटर पम्प तथा फर्स्ट एड किट समावेश छन्।

कार्यकारी निर्देशक आचार्यले डिभिजन वन कार्यालय भेरीका शाखा अधिकृत मनोज बि.सी.को रोहबरमा बराहताल सब–डिभिजन वन कार्यालयका रेन्जर केशबहादुर वलीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल सुर्खेतले आगो नियन्त्रण गर्ने तरिका तथा उपकरण प्रयोगसम्बन्धी डेमो प्रदर्शन गरेको थियो। उक्त प्रदर्शनमार्फत आगलागीको जोखिमबाट जोगिने उपाय र आगो नियन्त्रणका विधिबारे सहभागीहरूलाई जानकारी गराइएको थियो। स्थानीय सहभागीहरूले घर तथा वन क्षेत्रमा आगलागी भएमा कसरी सुरक्षित रूपमा नियन्त्रण गर्ने भन्ने विषयमा अभ्याससमेत गरेका थिए।

बराहताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुन मगरले उपलब्ध गराइएका सामग्रीको सही र प्रभावकारी उपयोग गर्न आग्रह गर्दै वन डढेलो नियन्त्रणमा स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले वन डढेलो नियन्त्रणको महत्त्व र यसले वातावरणमा पार्ने असरबारे चर्चा गर्नुभयो। सुख्खा मौसम सुरु भएसँगै बढ्दो डढेलोको जोखिम कम गर्न यस्ता सामग्री तथा सचेतनामूलक अभ्यासले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ।