Loading... आजः २०८१ बैशाख २२, शनिबार

उडान त खुल्ने भयो, तर यस्ता छन् सरकारका शर्त

काठमाडौँ : कोरोना महामारीका बीच आगामी सेप्टेम्बर १ बाट सरकारले नियमित र चार्टर्ड दुबै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । वायुसेवा कम्पनीले समेत उडान अनुमति पाएका छन् ।

तर, उडानका लागि विभिन्न शर्त अघि सारिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको उडान तालिका उल्लेख भएअनुसार नेपाल आउने नागरिक र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले करिब एक दर्जन शर्तको पालना गर्नुपर्छ ।

ती शर्त यस्ता छन् :

अनिवार्य नेगेटिभ पीसीआर रिपोर्ट

नियमित उडानबाट नेपाल आउने हरेक यात्रुको पीसीआर नेगेटिभ आएको ७२ घण्टाभित्रको रिपोर्ट अनिवार्य बुझाउनुपर्छ । पीसीआर नेगेटिभ सुनिश्चित भएपछि मात्र सम्बन्धित वायुसेवाले यात्रुलाई बोर्डिंङ पास दिनेछ ।

पीसीआर नेगेटिभ भएका यात्रु घर जान पाउने

एउटै उडानबाट आएको सबै यात्रुको साथमा पीसीआर परीक्षणको नेगेटिभ नतिजा रिपोर्ट भएमा सबै यात्रु होम क्वारेन्टिनमा बस्ने गरी जान सक्नेछन् । घर गएपछि उनीहरु अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ । यस्ता यात्रुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड १९ व्यवस्थापन केन्द्रले गर्नेछ ।

अनलाइन फारम अनिवार्य

नियमित उडानबाट आउने सबै यात्रुले जहाज चढ्नु भन्दा ७२ घण्टा अघिको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेवसाइटमा राखिएको फर्म भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथमा ल्याउनु पर्नेछ ।

यस्तै पीसीआर भएको र नभएको यात्रु एउटैमा ल्याउन पाइँदैन, नियमित परीक्षण नगरेका यात्रु ल्याए कारवाही गरिने, नेपाली बाहेक विदेशीको हकमा परिचयपत्र अनिवार्य, भिसाको जिम्मा विभागलाई दिइने, पहिलोपटक आउनेलाई नियुक्ति पत्रबाट छूट र स्वास्थ्यको मापदण्ड अनिवार्य शर्तको रुपमा अघि सारिएको छ ।

यस्तै क्वारेन्टिनमा बस्नैपर्ने यात्रुले अग्रीम होटेल बुकिङ गर्नुपर्नेछ । सरकारले रोक्ने निर्देशन दिएको समयमा जुनसुकै बेला पनि चार्टर्ड तथा नियमित उडान बन्द हुनसक्ने सरकारले अघि सारेको शर्तमा छ ।