सामूहिक आत्महत्या दुरुत्साहनमा डेढ वर्ष कैद
![]()
दैलेख — आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले एक वर्षअघि गरेको आत्महत्यामा उनका पति ३८ वर्षीय मानसिंह बडुवाललाई डेढ वर्ष कैदको फैसला गरिएको छ । दैलेख जिल्ला अदालतले मानसिंहलाई १५ हजार रुपैयाँ जरिवानासमेत गरेको छ । सुकीले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकी थिइन् ।
मुलुकी अपराध संहिता ऐन–२०७४ को दफा १८५ को उपदफा (२) बमोजिम जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट सोमबार उक्त सजाय भएको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले बताए । गत वर्ष ०७७ फागुन २३ गते कर्णाली नदीमा सुकी बडुवाल, उनकी छोरीहरू १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ७ वर्षीया रजनी र छोरा १० वर्षीय ललित बडुवालले सामूहिक रूपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका थिए ।
उक्त घटनामा आत्महत्या गर्न बाध्य पारेको भन्दै ०७७ चैत ११ गते सुकीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पारिवारिक विवाद र हिंसा सहन नसकी उनले छोराछोरीसहित नदीमा हाम फालेको भन्दै प्रहरीमा उजुरी दिइएको थियो ।
सुकीका भाइ बजिरसिंह थापाले दिएको जाहेरीमा ५ जनालाई आत्महत्या गर्न मानसिंहले बाध्य पारेको उल्लेख थियो । उनको जाहेरीको आधारमा प्रहरीले ०७७ चैत १२ गते सुकीका श्रीमान् मानसिंहलाई पक्राउ गरेको थियो ।
आठबीस नगरपालिका–३ जाक्सीगाउँको तलबाट कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका सुकीसहित पाँचै जनाको शव अछामको पञ्चदेवलविनायक नगरपालिका–४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक कर्णाली नदी किनारमा फरकफरक दिनमा फेला परेको थियो । अछामको भूभागमा शव फेला परेको कारण घटनाको मुचुल्का अछाममा गरिए पनि मृतकहरू दैलेखका बासिन्दा भएकाले दैलेखमा मुद्दा चलाइएको हो ।
प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत ०७७ चैत २९ गते दैलेख जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेकै इजलासबाट कसुरदारलाई पुर्पक्षका लागि थुनामा दैलेख कारागारमा राखिएको थियो ।
सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले कानुनमा तोकिएअनुसार ५ वर्ष कैद र ५० हजार जरिवानाको मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतका वैतनिक वकिल टेकबहादुर केसीका अनुसार परिवारका सबैलाई आत्महत्या गर्न बाध्य पारेको नभई आमा सुकीको मनोगत उत्तेजनामा ५ जनाको ज्यान गएको भन्दै कसुरदारलाई न्यूनतम सजाय गरिएको हो ।
साभार कान्तिपुर दैनिक







परिवर्तन संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार ०९:०८