Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

सुर्खेतमा १५ करोडको लगानीमा ग्याविन वायर उद्योग सञ्चालन

सुर्खेत –  वीरेन्द्रनगरमा कर्णालीकै पहिलो ग्याविन वायर उद्योग सञ्चालनमा ल्याइएको छ । व्यवसायमा सक्रिय पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मीले सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज प्रा.लि. सञ्चालनमा ल्याएको हुन् ।वीरेन्द्रनगर–१२ औद्योगिक क्षेत्रमा झण्डै १५ करोड लागतमा स्थापना गरिएको उद्योगको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका छन् । चीनबाट खरिद गरेर ल्याइएको मेसिनले सुर्खेतमै ग्याविन तारजाली उत्पादन गर्न सकिने उद्योगका अध्यक्ष सिद्धिखर रेग्मीले जानकारी दिए ।

मेसिनबाट दैनिक ९ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र दुई हजार किलोग्राम चेनलिङ्क (घेरबार जाली) उत्पादन गर्न सकिने अध्यक्ष रेग्मी बताउँछन् । तीन रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले अप्रत्यक्ष र प्रत्यक्ष रुपमा ४० जनालाई रोजगारी दिइएको छ । ‘यसअघि ग्याविन तारजाली बाह्य जिल्लाबाट ढुवानी गर्नुपर्ने बाध्यता थियो,’ रेग्मीले भने, ‘सुर्खेतमै उद्योग स्थापना भएपछि ढुवानी खर्च बच्ने र सस्तो दरमा यहीँबाट ग्याविन तारजाली पाउने व्यवस्था गरिदिएका छौं ।’
उद्योगले हाल २२ प्रकारका साइजमा ग्याविन तारजाली उत्पादन गर्दै आएको छ । तर उद्योगकाअनुसार यीमध्य अन्य साईजको अर्डर भएमा उत्पादन गर्न सकिन्छ ।