मिर्गौला दान गर्नेमा ७२ प्रतिशत महिला, पाउनेमा भने २२ प्रतिशत मात्र
![]()
काठमाडौँ -अधिकारमा पुरुषसँग बराबर हुन दुनियाँका नारी संघर्षरत छन्, तर मानवीय संवेदनामा उनीहरू यति अघि छन् जहाँ पुग्न पुरुषले निक्कै धेरै चेतना विकास गर्नुपर्ने छ । बिहीबार मनाउन लागिएको विश्व मिर्गौला दिवसको सन्दर्भमा कान्तिपुरले संकलन गरेको तथ्यांकअनुसार नेपालका सरकारी तथा निजी अस्पतालमा हालसम्म करिब १७ सय मिर्गौला प्रत्यारोपण गरिएको छ ।
त्यसमध्ये ७२ प्रतिशत दाता महिला छन्, तर मिर्गौला पाउनेमा भने उनीहरूको संख्या जम्मा २२ प्रतिशत छ ।
रोगले पुरुष र महिला भनेर छुट्याउँदैन तर समाज, संस्कार र संवेदनाले छुट्याएकाले पुरुषलाई मिर्गौला चाहिँदा पनि महिला र महिलालाई चाहिँदा पनि महिला नै अघि सर्नुपरेको तथ्यांकले नै पुष्टि गरेको छ । पुरुषलाई मिर्गौला दिन आमा, श्रीमती, दिदीबहिनी र फूपूसमेत अघि सर्छन् । तर महिलाको मिर्गौला प्रत्यारोपण गर्दा अघि सर्ने बाबु, दाजुभाइ, श्रीमान् र छोरा निक्कै कम छन् । त्यसैले धैरै महिलाको प्रत्यारोपण नै रोकिने गरेको छ ।
भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा हालसम्म भएका ८ सय १९ प्रत्यारोपणमध्ये ५ सय ८५ जना अर्थात् ७२ प्रतिशत दाता महिला छन् । तर मिर्गौला पाउने महिला भने १ सय ८१ जना अर्थात् २२ प्रतिशत मात्र छन् । ग्रहणकर्ता ६ सय ३८ जना अर्थात् ७८ प्रतिशत पुरुष हुन् ।
केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ मिर्गौला दिने र लिनेबीचको लैंगिक असन्तुलनलाई हटाउनु अत्यावश्यक ठान्छन् । ‘जीवन बचाउन महिला र पुरुष सँगसँगै अघि सर्नुपर्छ । यसका लागि थप कानुन र सहुलियतसँगै व्यापक जनचेतना आवश्यक देखिन्छ,’ उनी भन्छन् ।







परिवर्तन संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार ०९:५६