Loading... आजः २०८३ बैशाख ३, बिहीबार

ओलीले कम्युनिष्ट आन्दोलनलाई धोखा दिए : नेता खनाल

भक्तपुर : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट आन्दोलनलाई धोखा दिन थालेकाले नयाँ पार्टी खोल्नु परेको बताएका छन्।

नेकपा एकीकृत समाजवादी भक्तपुर नगर समितिले शनिबार आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले प्रधानमन्त्रीको शपथ खाएको दिनदेखि पार्टीलाई बेवास्ता गर्ने, पार्टीको निर्देशन नमान्ने प्रवृत्ति देखिएको, देश र जनतालाई धोखा दिएकाले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन नयाँ पार्टी जन्माउनु परेको बताएका हुन्।

‘नयाँ संविधानअनुसार सम्पन्न निर्वाचनमा दुईवटा कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्ने अवसर जुट्यो र त्यो अवसरका आधारमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गरी सरकार निर्माण गर्दा जनताको आकांक्षा सगरमाथा जस्तै चुलिएको थियो’, उनले भने, ‘तर ओलीले प्रधानमन्त्रीको शपथ खाएको दिनदेखि पार्टीलाई बेवास्ता गर्ने, पार्टीको निर्देशन नमान्ने प्रवृत्ति देखिएयो। उनले देश र जनतालाई धोखा दिए। नेपाली कम्युनिष्ट आन्दोलनलाई धोखा दिए।’

नेता खनालले सत्तामा पुगेपछि ओलीले देश र जनता नै बिर्सेको आरोप समेत लगाए। ‘जुन पार्टीले प्रधानमन्त्री बनायो, त्यो पार्टीको नीति बिर्सियो, त्यो पार्टीको कार्यदिशा बिर्सियो, त्यो पार्टीका कार्यक्रम र प्रतिबद्धता बिर्सियो, जनतासँग निर्वाचनमा गरेका सारा प्रतिवद्धता पनि बिर्सियो। जनतालाई धोखा दियो र आफ्ना मात्र हित हुने, दलाल पुँजीपतिका हित हुने नीति लागू गर्न थाल्यो’, उनले भने।

उनले राष्ट्रिय परिस्थितिमा रहेको प्रतिकूलतालाई बदलेर जानुपर्ने र त्यसका लागि शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए। ‘कम्युनिष्ट आन्दोलन र पार्टीप्रति ओलीले एक पछि अर्को प्रहार गर्न थालेपछि नेपालको कम्युनिष्ट आन्दोलनमा बडो दुर्भाग्यपूर्ण स्थिति सिर्जना भयो, शक्तिशाली संसद् दुई दुईपटक विघटन भयो र कम्युनिष्ट आन्दोलनलाई धोखा दिन थालेको सिलसिलामा नयाँ कम्युनिष्ट पार्टी नेकपा एकीकृत समाजवादीको जन्म भएको हो।’

उनले नेपालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्नेमा जोड दिए। ‘कुनैपनि देशले परका देशसँग मित्रता छिमेकीहरूसँग शत्रुता गर्‍यो भने परिणाम के हुन्छ भन्ने कुरा युक्रेनबाट सिक्नुपर्छ। यहाँका नेताहरूले पनि के बुझ्नुपर्छ भने अमेरिकासँग अँगालो मार्ने, चीन र भारतसँग भने रुष्टता र शत्रुता बढाउने गर्‍यो भने भोलि गएर नेपाल युक्रेन बन्दैन भन्न सकिँदैन। त्यसकारण हामीले होसियारीपूर्वक जानुपर्ने अवस्था छ’, उनले भने।

अमेरिकी साम्राज्यवादी शक्ति रक्षात्मक बन्दै गएको र विश्वमा समाजवादी शक्ति पहिले भन्दा अघि बढ्न सक्ने परिस्थिति बन्दै गएको बताए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६१ जना युवा समाजवादीमा प्रवेश गरेका थिए। नवप्रवेशीलाई नेता खनालले टीका र खादा लगाई पार्टीमा स्वागत गरेका थिए।