श्रम शोषणमा परेको सल्यान अस्पतालका स्वास्थ्यकर्मीको गुनासो

सल्यान – जिल्ला अस्पताल सल्यानका स्वास्थ्यकर्मीहरूले श्रम शोषणमा परेको बताएका छन्। नियमित ड्युटीभन्दा बढी सेवामा खटिँदा समेत अस्पतालले त्यसबापतको कुनै सेवा सुविधा नदिएको बताएका छन्।
अस्पतालका इन्डोर इन्चार्ज शुलोचना महर्जनले आफूहरू ड्युटी समयभन्दा बढी काम गरे पनि काम गरेबापत सेवा सुविधा नपाएको गुनासो गरिन्। अस्पतालमा एक सुत्केरी गराए बापत आफूहरूले पाउने भत्ता समेत नपाएको उनको गुनासो छ।
स्टाफ नर्सहरूको कमी हुँदा तोकिएको समयभन्दा बढी काम गर्दै आइरहेको र काम गरे बापतको पाउनुपर्ने सेवा सुविधा नपाएको महर्जनले बताइन्।
अस्पताल विकास समितिका अध्यक्ष सिपी ओली अस्पतालमा आयस्रोत कम भएका कारण स्वास्थ्यकर्मीहरूले पाउने सेवा सुविधा दिन नसकिएको बताउँछन्। पहिले घाटामा रहेकाले अस्पताल अहिले केही सुधार हुँदै आएको बताउँदै उनले अबदेखि अस्पतालबाट आउने जम्मा आम्दानीको ४० प्रतिशत स्वास्थ्यकर्मीको सेवा सुविधा दिने निर्णय भएको बताए।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले प्रदेश सरकारले कम बजेट पठाएपछि समस्या भएको बताए। कार्यालय सहयोगी समेतलाई एउटै बजेटबाट तलब खुवाउनु पर्दा समस्या भएको उनको भनाइ छर। तर‚ स्वास्थ्यकर्मीहरूले प्रदेशले सरकारले दिने सेवा सुविधा पाइरहेको बताए। तर‚ स्वास्थ्यकर्मीले सुत्केरी बनाए बापत पाउने भत्ता दिन केही ढिलाइ भए पनि छिट्टै प्रदान गर्ने तयारी भइरहेको व्यवस्थापक श्रेष्ठले बताए।







परिवर्तन संवाददाता
३० फाल्गुन २०७८, सोमबार १२:२७