Loading... आजः २०८३ बैशाख ३, बिहीबार

एमसिसी राष्ट्रहित विपरीत छैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा राष्ट्रको हितविपरीत नरहेको बताएका छन्। मोटरेबल पक्की पुल उद्घाटन गर्न खोटाङ आएका उनले यस्तो बताएका हुन्।

केही व्यक्तिले राष्ट्रघाती भनेर गलत प्रचार गरे पनि एमसिसी नेपालको पक्षमा र विकासको पक्षमा रहेकाले संसदबाट पास गरिएको प्रधानमन्त्री देउवाले बताए। एमसिसी परियोजनाबाट प्राप्त रकमले देशमा ठूलो विकास गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री देउवासँगै पुल उद्घाटन गर्न खोटाङ आएका खानेपानीमन्त्री उमाकान्त चौधरीले एमसिसी पास गरेसँगै अब विद्युत उत्पादन बढाएर देशको आर्थिक स्तर वृद्धि गर्ने बताएका छन्। नेपाल विश्वको जलस्रोतको दोस्रो ठूलो देश भएको उल्लेख गर्दै जलस्रोतको सदुपयोग गरेर देशमा आर्थिक वृद्धि गर्न सकिने उनको धारणा थियो। जसलाई अब एमसिसीले सघाउने मन्त्री चौधरीको भनाइ छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल उद्घाटन गर्न सोमबार खोटाङ आएका प्रधानमन्त्री देउवा र खानेपानीमन्त्री चौधरी पुल उद्घाटन गरेर सोमबार साँझ काठमाडौं फर्किएका छन्।

मूल्य अभिवृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५ सय ४५ रूपैयाँमा निर्मित मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो। संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको २ करोड बजेटमा निर्माण सम्पन्न भएको ४० मिटर लामो पक्की पुल सूर्य एन्ड सन्स प्रालिले निर्माण गरेको हो। निर्माण कम्पनीसँग वि.सं. २०७८ जेठ १७ गते निर्माण सक्ने गरी २०७६ जेठ १७ गते सम्झौता भएको थियो।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडकमार्गमा पर्ने साप्सुखोलामा निर्माण गरिएको पक्की पुल केही समय अगाडि नै सञ्चालनमा आइसकेको छ। पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ, चुइचुम्मा, खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ।