एनआरएनएको दशौं महाधिवेशन चैत १० र ११ गते काठमाडौंमा हुँदै
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन चैत्र १० र ११ काठमाडौंमा हुने भएको छ।
मंगलवार एनआरएनएले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मन दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले चैत १२ र १३ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भने पनि केही परिमार्जन गरेर १० र ११ गते गर्ने निर्णय गरेको जानकारी दिए।
उनले गैरआवासीय एक र एकतावद्ध रहने दाबी गरे। उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताए। अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको बताए।
‘गैरआवासीय नेपाली संघ एक रहन्छ, एकतावद्ध रहन्छ‚’ पन्तले भने‚ ‘एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति झनै प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्दै जानेछ।’
त्यस्तै‚ अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा बृहत् आम सहमति गर्नुको विकल्प नभएको बताए। उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरु मिलेर संस्थालाई अघि बढाउने बताए।







परिवर्तन संवाददाता
८ चैत्र २०७८, मंगलवार १५:०३