पल्सर स्पोर्टस् अवार्ड : पारसलाई दशकका उत्कृष्ट खेलाडी अवार्ड
काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड मंगलबार सम्पन्न गरेको छ। अवार्डमा विभिन्न विधाका विजेतालाई पुरस्कार प्रदान गरिएको छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा पारस खड्का दशकका उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित हुँदा सावित्रा भण्डारी दशकको उत्कृष्ट महिला खेलाडीबाट सम्मानित भइन्।
कोरोना महामारीका कारण कुनै पनि महत्त्वपूर्ण इभेन्ट नहुँदा योपटक अवार्डलाई दशक अवार्डका रूपमा वितरण गरिएको थियो। कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएको भन्दै मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा महत्त्वपूर्ण सफलता दिलाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गरेको हो।
अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयनमा पाँच खेलाडी रहेका छन्। योपटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बाहाङ्फे, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भूर्तेल रहेका थिए जसमा टेबलटेनिसकी एलिना महर्जनले अवार्ड हात पारिन्।
पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ-टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तरराष्ट्रिय खेलपत्रकार सम्मानको घोषणा गरिएको थियो। यो वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।







परिवर्तन संवाददाता
८ चैत्र २०७८, मंगलवार २१:१२