Loading... आजः २०८२ पुष १७, बिहीबार

समाजवादीका प्रदेश कमिटी सदस्य फर्किए एमालेमा

दैलेख – नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य तथा दैलेखको भगवतीमाई गाउँपालिका इन्चार्ज दानबहादुर थापा एमालेमा फर्किएका छन्। एमाले भगवतीमाई गाउँ कमिटीले आज (शुक्रबार) आयोजना गरेको आमसभामा थापा एमालेमा फर्किएका हुन्।

गाउँपालिकाका अध्यक्षसमेत रहेका थापाले एमाले विभाजनताका एकीकृत समाजवादीमा सनाखत गरेका थिए। उनी एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थिए। उनले समाजवादीबाट केही दिनअघि राजीनामा दिएको घोषण गरेका थिए।

प्रदेशसभा सदस्य सुशील थापाका अनुसार गाउँपालिकाका अध्यक्ष थापासहित विभिन्न वडाका ८ जना जनप्रतिनिधिसहित अन्य दलबाट गरि १ सय २५ जना एमालेमा प्रवेश गरेका छन्। जनप्रतिनिधिहरू जसेतु खडका, कमला खत्री, मानबहादुर नेपाली, बालबहादुर थापालगायत रहेको थापाले बताए।

एमालेमा फर्किँदै गाउँपालिकाका अध्यक्षसमेत रहेका थापाले मूलघरमै फर्किँदा खुशी लागेको बताए। उनले लामो समय लगानी गरेको पार्टी त्यागेर उतिवेला अन्यत्र जानुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना गरिएको बताए। उनले भने, ‘मूलघरमै फर्किँदा खुशी छु, उतिवेला केही बाध्यात्मक अवस्थाका कारण समाजवादीमा लाग्नु परेको हो, अब एमालेमै रहेर जनताको सेवामा खट्छु।’

एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले राष्ट्रको विकास चाहनेहरु एमालेमै रहनुपर्ने बताए। उनले मुलुकको विकासका लागि एमालेबाहेक अन्य कुनै दलले काम गर्न नसक्ने भएकाले समृद्ध मुलुक बनाउने एमालेको अभियानमा सबैले एक भएर लाग्नुपर्ने बताए।