Loading... आजः २०८२ पुष १४, सोमबार

आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रबर्द्धन गर्नका लागि आयातीत संस्कारलाई हटाउन आग्रह गरेकी छिन्।

उनले भनिन, “स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्नको प्रयोग गरौँ, हाम्रो व्यवहारमा परिवर्तन गरौँ र हाम्रो अर्थतन्त्र प्रबर्द्धन गरौँ ।”

हालै सम्पन्न जनगणनाको प्रारम्भिक तथ्याङ्कले बसोबासको अवस्थामा फेरबदल ल्याएको उल्लेख गर्दै मन्त्री भुसालले  हिमाल र पहाडका कृषियोग्य जमिन बाँझो रहने र तराईको  उर्वरा भूमि बसोबासमा परिणत हुदै गएको बताइन।

उनले बसाइँ सराइको चुनौतीलाई सम्बोधन गर्ने गरी नीति विकास गर्नुपर्ने आवश्यकता औंल्याइन।

देशको मुख्य आर्थिक आधार भनेको कृषि, जलविद्युत् र पर्यटन क्षेत्र भएकाले यी क्षेत्रको प्रबर्द्धनका लागि एकीकृत नीति तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन।

यसका लागि सिँचाइ विकास गर्दै लगिने योजना रहेको उनले जानकारी दिइन।

कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई र जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले देशको सिँचाइ क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमको कार्यान्वयनमा विभागले सक्रियतापूर्वक गरेका बताए।

उनले देशको कृषि आयातलाई निरुत्साहित गर्नका लागि पनि साधनस्रोत तथा नीतिगत रूपमा विभागलाई सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए।