Loading... आजः २०८१ बैशाख १०, सोमबार

चुनावको माहोलमा ट्रम्पले किन गरे मोदीको प्रशंसा ?

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । अमेरिकामा आउँदै गरेको चुनावको माहोलमा ट्रम्पले मोदीको प्रशंसा गरेको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

विपक्षी दल डेमोक्रेटिकका नेता तथा उम्मेदवारहरुले भारतीय अमेरिकीहरुको समुदायलाई सम्बोधन गरिरहेका बेला ट्रम्पले मोदीको प्रशंसा गरेका हुन् ।

ट्रम्पले भारत भ्रमणको प्रसंग समेत जोड्दै मोदीले कठिन समयमा पनि राम्रो काम गरिरहेको भन्दै उच्च प्रशंसा गरेका हुन् । उनले मोदी आफ्नो साथी र राम्रो नेता भएको प्रतिक्रिया पनि दिए । “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुन् । उनले धेरै राम्रो काम गरिरहेका छन् । उनी धेरै राम्रो नेता हुन् ।” ट्रम्पले भनेका छन् ।

अमेरिकामा आगामी नोभेम्बरमा हुने चुनावमा ट्रम्पले भारतीय समुदायबाट पहिले जस्तो धेरै मत नपाउने विश्लेषण भइरहेका बेला उनले मोदीको प्रशंसा गरेका हुन् । त्यसो त, ट्रम्पका प्रतिष्पर्धी जो बाइडेन र उनीसँगै उपराष्ट्रपति पदमा उम्मेदवार बनेकी कमला ह्यारिसले अमेरिकामा रहेको २० लाख भन्दा ठूलो हिन्दू समुदाय र भारतीय मूलका आप्रवासीहरुबाट राम्रो मत पाउने अपेक्षा गरिएको छ ।

ट्रम्पले चुनावको माहोलमा मोदीको प्रशंसा गरेर अमेरिकामा रहेका लाखौँ हिन्दू तथा भारतीय मूलका आप्रवासी समुदायबाट मत संकलन गर्न खोजेको विश्लेषण पनि स्थानीय मिडियाले गर्न थालेका छन् ।