चर्च ब्वाइज र खुमलटार ए डिभिजनमा बढुवा

काठमाडौैं -एक खेल अगावै च्याम्पियन भएको चर्च ब्वाइज युनाइटेडले आइतबार बी डिभिजन लिगको उपाधि उचाल्दा खुमलटार युथ क्लब उपविजेता बन्यो। उपविजेता बनेको खुमलटारले आइतबार सामाजिक युथ क्लबविरुद्ध २–१ को नतिजा निकालेसँगै ए डिभिजन लिगमा बढुवा भएको हो
बढुवा भएका चर्च ब्वाइज र खुमलटार पहिलो पटक शीर्ष डिभिजन लिगमा स्थान बनाएर इतिहास बनाए । झम्सीखेल युथ क्लब र सामाजिक युथ क्लब भने सी डिभिजन लिगमा घटुवा भए।
शहीद स्मारक बी डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन र खुमलटार युथ क्लब उपविजेता बन्दै शीर्ष डिभिजनमा बढुवा भएका छन्। गत मंगलबार बाँसबारी क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेपछि चर्च ब्वाइज एक खेल अगावै च्याम्पियन बन्दा खुमलटारले आइतबारको खेलमा सामाजिक युथ क्लबलाई स्तब्ध बनाउँदै ए डिभिजनमा बढुवा भएको हो।
सिजनको पहिलो प्रयासबाटै चर्च ब्वाइजले शीर्ष डिभिजनमा स्थान बनाउँदा अर्को बढुवा भएको टोली खुमलटारले अन्तिम खेल नै कुर्नु परेको हो चर्च ब्वाइजले बिसं २०७७ मा सी डिभिजन लिग खेलेको थियो र बी डिभिजनमा बढुवा भएको पहिलो वर्षमा नै च्याम्पियन बनेर ए डिभिजनमा उक्लिएको हो।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम खेलमा भने रानीपोखरी कर्नर टिम (आरसिटी) ले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा ए डिभिजन लिगमा बढुवाको ढोका बन्द भयो। उता बराबरीमा रोकिएको टुसाललाई बी डिभिजन लिगमा रहिरहन खुमलटारको जित बरदान भयो भने सामाजिक युथ क्लबलाई अभिशाप बन्यो।
बढुवाका लागि जित्नै पर्ने दबाबमा रहेको आरसिटीले अपेक्षाअनुसारको दशरथ रंगशालामा प्रदर्शन गर्न चुक्यो। जुन नतिजा आरसिटीका लागि महँगो बन्यो।
महत्वपूर्ण खेलमा सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए। ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। तर खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को जित निकाल्दै बी डिभिजन लिगको दोस्रो स्थानमा रहँदै शीर्ष डिभिजनमा उक्लिएको हो।
२०६१ सालमा स्थापना भएको खुमलटार पहिलो पटक शीर्ष लिगमा उक्लिएको हो। खुमलटारले १३ खेलमा २२ अंक जोड्यो। रानीपोखरी कर्नर टिम (आरसिटी) को पनि २२ अंक भए पनि हेड टु हेडमा खुमलटार अघि रह्यो।










परिवर्तन संवाददाता
२७ चैत्र २०७८, आईतवार २२:४७