एमालेले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो आज लगाउने
उम्मेदवारबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको नाम सिफारिस गरिसकेका छन्। सिफारिस भएकाहरूबारे छलफल गरेर आज सचिवालयले उम्मेदवार टुंगो लगाउन लागेको हो। तीनवटा महानगरका उम्मेदवार एमाले नगर कमिटीबाट सर्वसम्मत रूपमै सिफारिस भएका छन्।
ललितपुर महानगरमा हरिकृष्ण व्यञ्जनकार, भरतपुरमा विजय सुवेदी र वीरगञ्जमा विजय सरावगी सर्वसम्मत सिफारिस भएका छन्। बाँकी तीन महानगरमा भने सहमति जुट्न सकेको छैन।
काठमाडौं महानगरका लागि विद्यासुन्दर शाक्य, केशव स्थापित, रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्त गरी पाँच जनाको नाम सिफारिस भएको छ। विराटनगरमा रामलाल साह, पर्शुराम बस्नेत, महेश भट्टराई, बाबुराम कार्की र सागर थापा गरी पाँचजनाको नाम सिफारिस भएको छ। सबैभन्दा धेरै विवाद रहेको पोखरा महानगरमा १२ जनाको नाम सिफारिस भएको छ।
सबैजसो उपमहानगरपालिकाका लागि नगर कमिटीले उम्मेदवार सिफारिस गरिसकेका छन्। एमालेले स्थानीय तह निर्वाचनका लागि हिजो घोषणापत्र सार्वजनिक गरेको थियो।








परिवर्तन संवाददाता
१० बैशाख २०७९, शनिबार १२:२४