Loading... आजः २०८१ बैशाख ८, शनिबार

नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा मनोनित

काठमाडौँ : सत्तारुढ दल नेकपाका उपाध्यक्ष तथा प्रभावशाली नेता वामदेव गौतम राष्ट्रियसभामा मनोनित भएका छन् ।

राष्ट्रियसभामा रिक्त एक सदस्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नेता गौतमलाई मनोनित गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सिफारिस पठाएपछि तत्कालै राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रियसभामा गौतम ६ वर्षसम्म रहनेछन् ।

नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बहुमत सचिवालय सदस्यको दबाबपछि ओलीले नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयमा सरकार पुगेको नेकपा स्रोत बताउँछ । यद्यपि गौतमको मनोनयनबारे पार्टी भित्र र बाहिर लामो बहस र आलोचना पनि भएको थियो । तर पार्टीभित्र उनलाई भविष्यको प्रधानमन्त्रीको रुपमा हेर्न चाहने ठूलो पंक्ति छ ।

यस्तै पार्टी अध्यक्षको कार्यकारी अधिकार प्राप्त गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा केन्द्रीय सचिवालयको बैठक बिहीबार बिहान पेरिसडाँडामा बोलाएका छन्।