Loading... आजः २०८१ श्रावण ८, मंगलवार

प्रेस युनियन द्धारा पत्रकार महासंघका सबै कार्यालयमा धर्ना

नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनले सोमबार देशभर रहेका नेपाल पत्रकार महासंघका कार्यालयहरुमा धर्ना दिएको छ ।

विभिन्न ७ बुँदे मागहरू अघि सारेर आन्दोलनरत युनियनले सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म केन्द्रदेखि जिल्लासम्म रहेका तीनै तहका महासंघका कार्यालयहरुमा धर्ना दिएको हो ।

युनियन विधि र प्रक्रियाविपरीत सार्वजनिक गरिएको नामावली खारेज गर्नुपर्ने, जिल्ला र प्रदेशबाट सिफरिस गरेका र सदस्यता लिने मापदण्ड तथा योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गरिनुपर्ने, नवीकरण छुटेका र मापदण्ड पुगेका पत्रकारको सदस्यता नवीकरण गर्नुपर्नेलगायतका ७ बुँदे माग अघि सारेर प्रेस युनियनले शुक्रबार रातिबाट आन्दोलन गर्दै आएको छ ।

प्रेस युनियनले शनिबार महासंघको केन्द्रीय कार्यालय, प्रदेश कार्यालयहरु र जिल्ला कार्यालयहरुमा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि पनि माग सुनुवाइ नभएको भन्दै प्रेस युनियनले सोमबार कार्यालयहरुमा धर्ना दिएको हो ।