Loading... आजः २०८१ माघ २, बुधबार

कर्णालीका मुख्यमन्त्री कँडेलसहित ७ जनाको सम्पत्ति विवरण सार्वजनिक

वीरेन्द्रनगर – कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसहित ६ जना मन्त्री र १ जना राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट बिहीबार सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

विवरणमा मुख्यमन्त्री कँडेलका सुर्खेत र काठमाडौँमा घर र घडेरी छन् । योसँगै विभिन्न ११ वटा बैंक तथा सहकारीमा उनको लाखौं रकम मौज्दात पनि छ । कँडेलको नाममा सुर्खेतको वीरेन्द्रनगर–४ मा पक्की घर छ । उक्त घर पुर्ख्यौली सम्पत्ति भएको विवरणमा उल्लेख गरिएको छ ।

यस्तै उनकी श्रीमती गीता अधिकारीको नाममा काठमाडौँमा घर छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । यो घर विगतको बैंक मौज्दात, आफ्नो, श्रीमती र छोरीहरूको पारिश्रमिक, घरभाडा, ऋण सापट गरी जोडेको भनिएको छ ।

यस्तै कँडेलको नाममा वीरेन्द्रनगर नगरपालिका–९ मा ०।८।१४ वर्गमिटर र उनकी श्रीमतीको नाममा वीरेन्द्रनगर १० मा ०।१।८।२, वडा नम्बर ४ मा ०।०।१८ र ०।०।१३।१९ वर्गमिटर क्षेत्रफलमा फैलिएको जमिन छ । श्रीमती अधिकारीको नाममा काठमाडौंको गोठाटार मूलपानी–४ मा ८ आनामा फैलिएको जमिन रहेको उल्लेख छ ।

चल सम्पत्तिमा उनीसँग १० तोला सुन छ । सुन केही पुर्ख्यौली र केही खरिद गरेको जनाइएको छ । यस्तै कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ । यसरी बैंक र सहकारीमा जम्मा गरिएको रकम पारिश्रमिक, घरभाडा, बोनस, सापटी फिर्ता लगायतबाट जोडेको मुख्यमन्त्री कँडेलले उल्लेख गरेका छन् ।

यस्तै उनले राष्ट्रिय वाणिज्य बैंकबाट ४५ लाख ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । डोल्पाको जगदुल्ला गाउँपालिका–५ निवासी उनको गाउँमा १ घर छ । यो पुर्ख्यौली हो । बाँकेमा २ वटा घर छन् । उक्त घर १० लाखमा जोडेको बताइएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ मा २५ लाख मूल्य बराबरको अर्को घर रहेको उल्लेख गरेका छन् ।

यी घरहरू उनले ठेक्कापट्टाबाट जोडेको उल्लेख गरेका छन् । शाहीकै नामा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ ठाउँमा जग्गाजमिन रहेको छ । ४ बिगाह पुर्ख्यौली सम्पत्ति र अरु ठेक्कापट्टाबाट नै जोडेको शाहीले उल्लेख गरेका छन् । यस्तै शाहीसँग २९ तोला सुन, ५ तोला चाँदी, मुरा १० तोला रहेको उल्लेख गरेका छन् । मन्त्री शाही र उनकी श्रीमती शिलकुमारी शाहीको नाममा ५ लाख रकम मौज्दात रहेको छ ।

उनको ठेक्का कम्पनी उनकै श्रीमतीको नाममा रहेको र उक्त रकम पनि ठेक्कापट्टाबाट नै कमाएको उल्लेख छ । साथै डिविसी कन्स्ट्रक्सन नामको कम्पनी ६० प्रतिशत मन्त्री शाही र ३० प्रतिशत श्रीमतीको नाममा छ । कम्पनी र आफ्नो नाममा ८ लाख ऋण रहेको उनले देखाएका छन् । शाहीसँग २ वटा डोजर लगाएतका केही सवारीसाधन पनि छन् । सबै ठेक्कापट्टाबाट नै खरिद गरिएको शाहीले उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले आफ्नो सम्पत्ति विवरणमा डोल्पाको काइके गाउँपालिका – २ मा पुर्ख्यौली घर तथा जमिन रहेको उल्लेख गरेका छन् । यस्तै उनकी श्रीमती कुमारी बुढाको नाममा डोल्पाकै ठुलोभेरी नगरपालिका–३ को दुई वटा ठाउँमा जमिन छ । एक ठाउँमा ०००।४२५ वर्ग मिटर क्षेत्रफल र अर्को ०००।२० वर्ग मिटर क्षेत्रफलमा जमिन रहेको उल्लेख छ ।

उक्त सम्पत्ति व्यापारबाट जोडेको उल्लेख गरेका छन् । बुढासँग २० तोला सुन, ६० तोला चाँदी रहेको उल्लेख गरेका छन् । उक्त सम्पत्ति पनि व्यापारबाट नै जोडेको उल्लेख छ । यस्तै, श्रीमतीकै नाममा रहेको नेपाल बैंकमा २० लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन् । उक्त रकम पनि व्यापारबाट नै जोडेको उल्लेख छ ।

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ठाटीकाँध गाउँपालिका–१ दैलेख निवासी शाहीको काठमाडौको बूढानीलकण्ठ नगरपालिका–५ मा ४ आनामा दुई तलाको घर रहेको उल्लेख गरिएको छ । ७५ लाख ऋणमा घर किनिएको शाहले उल्लेख गरेका छन् ।

घर उनकी श्रीमती लक्ष्मीदेवी शाहको नाममा रहेको पनि जनाइएको छ । श्रीमतीकै नाममा ३ ठाउँमा जमिन छ । भक्तपुरको सूर्य विनायकमा ४८ लाख मूल्य बराबरको ५०८।७४ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जमिन छ । आठबीस नगरपालिका दैलेखको राकम कर्णालीमा १० लाख मूल्य बराबरको १८५ वर्ग मिटरको जमिन छ भने गाउँमा ५० रोपनी जमिन छ ।

भक्तपुर र ठाटीकाँधको जमिन पुर्ख्यौली र राकम कर्णालीको जमिन पारिश्रमिकबाट खरिद गरिएको उल्लेख छ । यस्तै उनीसँग ६५ तोला सुन, १५ क्यारेट हिराको हार, रुवी सेट २ थान र १५ सय तोला चाँदीका भाँडा रहेको उल्लेख छ । सम्पत्ति केही पुर्ख्यौली छोरा र आफ्नो पारिश्रमिक, छोरीले केही उपहार दिएको उल्लेख छ ।

जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियारले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । हुम्ला अदानचुली–१ निवासी परियारसँगै गाउँमा पुर्ख्यौली घर छ । सोही ठाउँमा ६० रोपनी पुर्ख्यौली जमिन छ । ३ तोला सुन, २० तोला चाँदी र ६० हजार रकम मौज्दात रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यो सम्पत्ति नगद तलभत्ता र पुर्ख्यौली भएको उल्लेख गरेका छन् । दुई वटा बैँकमा गरी ७० हजार मौज्दात रहेको उनले जनाएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले कालिकोटको तिलागुफा नगरपालिका–७ मा एउटा घर भएको जनाएका छन् । यस्तै तिलागुफामै ७ वटा ठाउँमा जमिन भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यो पुर्ख्यौली सम्पत्ति भएको उनले जनाएका छन् । उनले आफूसँग नगद, सुन, चाँदी केही पनि नभएको जनाएका छन् ।

सम्पत्ति विवरण सार्वजनिक गरेका अर्थमन्त्री महेन्द्र केसी अन्य मन्त्रीभन्दा गरिब देखिएका छन् । उनीसँग आफ्नो बस्ने घर छैन । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ निवासी केसीको गाउँमा दुई ठाउँमा जमिन छ भने कपिलवस्तुको बाणगंगाको ३ ठाउँमा गरी ३ कठ्ठा ९ धुर जमिन छ । उनीसँग पनि सुन चाँदी केही छैन । उनी र उनको परिवारको नाममा दुईवटा बैँकमा ६ लाख एक हजार ३३५ रुपैयाँ मौज्दात छ ।

यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री गमता विकले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् । आठबिस नगरपालिका–१ दैलेख निवासी विकले गाउँमा कच्ची पुर्ख्यौली घर भएको जनाएकी छिन् । उनीसँग चार तोला सुन, १० तोला चाँदी छ । यो कृषि खेतीबाट जोडेको र केही पैतृक सम्पत्ति भएको जनाएकी छिन् । उनको ५ लाख रकम बैँकमा जम्मा छ । उक्त रकम सांसदको तलब भत्ताबाट जम्मा गरिएको बताएकी छिन् । कान्तिपुर दैनिक बाट