Loading... आजः २०८२ पुष १५, मंगलवार

६३ दलले बुझाए समानुपातिक बन्दसूची

नेपाली कांग्रेसको मात्र बाँकी

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।

आयोगका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दलले समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची दर्ता गराइसकेका छन्। यसैगरी नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी–पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपाल लगायतका दलले पनि सूची बुझाएका छन्।

त्यस्तै नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीलगायतले समेत समानुपातिकतर्फको बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ।

हालसम्म नेपाली कांग्रेसबाहेक सबै दलले बन्दसूची बुझाइसकेका छन्। कांग्रेसले बन्दसूची बुझाएपछि यो संख्या ६४ पुग्नेछ। पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरका लागि महाराजगञ्ज पुगेका मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा अझै आयोग नफर्किएकाले कांग्रेसको सूची बुझ्न ढिलाइ भएको आयोगले जनाएको छ।

समानुपातिकतर्फ ६४ दलले उम्मेदवारी दिए पनि तीमध्ये ५८ वटा दलले मात्र निर्वाचन चिह्न प्राप्त गरेका छन्। केही दल संयुक्त चुनाव चिह्न प्रयोग गरेर निर्वाचनमा सहभागी हुने भएका छन्।