Loading... आजः २०८२ माघ ७, मंगलवार

सुर्खेतमा दोस्रो प्रादेशिक मह महोत्सव सुरु

कृष्ण शर्मा ,सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज विहीबारदेखि दोस्रो प्रादेशिक मह महोत्सव सुरु भएको छ। चौँथो राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा नेपाल मौरी पालक महासंघ कर्णालीले महोत्सवको आयोजना गरेको हो।

महोत्सवमा कर्णालीका विभिन्न जिल्लाका किसानहरूले मह तथा रैथाने कृषि वस्तुका ५० वटा स्टल राखेका छन्। उद्घाटन कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जैविक विविधता संरक्षण आवश्यक रहेको बताउँदै मौरी संकटमा परे मानव अस्तित्वसमेत जोखिममा पर्ने चेतावनी दिनुभयो।

मन्त्री शाहले कर्णाली सरकारले पर्यावरणीय कृषिलाई प्राथमिकता दिएको जानकारी दिनुभयो। कार्यक्रममा वक्ताहरूले रैथाने बाली र मौरी संरक्षणका लागि सरकारी, निजी क्षेत्र र कृषकबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।

आयोजकका अनुसार महोत्सव तीन गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा कर्णालीका दशै जिल्लाको मह एकै स्थानमा अवलोकन तथा किनबेच गर्न सकिनेछ।