Loading... आजः २०८१ बैशाख १३, बिहीबार

कोरोनाका कारण मुत्यू भएका पुरुषको परिवारमा धेरैलाई कोरोना पोजेटिभ

दैलेख : रोजगारीका लागि भारत गएका र भारतमै कोरोना संक्रमित भई जन्मथलो फर्केर ज्यान गुमाएका दुल्लु नगरपालिका–२ नाउलेकटुवाल स्थित वडापोखराका ३८ बर्षीया पुरुषको परिवारका सबैलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका ३५ बर्षीया श्रीमती, क्रमश १३ र १४ बर्षका दुई छोरा, तीन जना हजुरबुवा, दुई जना अंकल र एक जना छिमेकी सहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रवार ती पुरुषका परिवार र छिमेकी सहित २५ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।

भारतमा कोरोना संक्रमण भएको तर ढाँटेर अघिल्लो साता गाउँ फर्किएका ती पुरुषको दुल्लु अस्पतालमा निधन भएको थियो । कोरोना संक्रमणका कारण मृत्यु भएका ती पुरुषले घरपरिवार र अस्पताललाई समेत आफु भारतमै कोरोना संक्रमित भएकोबारे बताएका थिएनन् । शुक्रवार कोरोना पुष्टि भएका उनका परिवारका सदस्यहरुले घरबाट अस्पतालसम्म पु¥याएका थिए ।

दुल्लुमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सुर्खेत रिफर गरेको थियो । तर, परिवारले सुर्खेत लैजान नपाउँदै उनको मृत्यु भएको थियो । मृत्यु पछि आफन्त र घरपरिवारले उनको शवलाई घर पु¥याएका थिए । उनलाई कोरोना पुष्टि भएको थाहा पाएपछि मात्र परिवार, छिमेकी र आफन्तहरु ससंकित बनेका थिए ।
शुक्रवार कोरोना संक्रमण पुष्टि भएका ती पुरुषका परिवार र आफन्तहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुले शुक्रवार दिनभर आइसोलेसनमा राखेर उपचार हुनुपर्ने माग राख्दै वडा कार्यालयमा धर्ना दिएका थिए ।

यद्धपी स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डमा लक्षण नभएका संक्रमितहरुलाई होम आइसोलेसनमा राख्नुपर्ने भएकाले उनिहरुलाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।

कोरोना संक्रमणको लक्षण सहितको बिरामीको हकमा आइसोलेसन अस्पतालमा राखेर उपचार गर्न नगरपालिका तयार रहेको मेयर भण्डारीले बताए ।