Loading... आजः २०८३ बैशाख ५, शनिबार

सुदूरपश्चिम सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी

धनगढी – राष्ट्रियसभा सुदूरपश्चिमको निर्वाचन सकिएको छ।

निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् भने एमालेले हार बेहोरेको छ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित भएका हुन्।

खुल्लाबाट कैलालीका मिश्रले प्रदेशसभातर्फ १ हजार ८ सय ७२ मतभार र स्थानीय तहतर्फ १ हजार ८ सय ७२ मतभार पाएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डिल्लीराज भट्टले प्रदेशतर्फ ६ सय २४ र स्थानीय तहतर्फ १ हजार २ सय ७२ मतभार प्राप्त गरेका छन्।

यस्तै सत्ता गठबन्धनकै माओवादी केन्द्रका जगत पार्कीले पनि प्रदेशसभातर्फ १ हजार ८ सय ७२ मतभार र स्थानीय तहतर्फ १ हजार ८ सय ९० मतभार पाएर निर्वाचित भएका छन्। उनी सत्ता गठबन्धनबाट दलिततर्फका उम्मेदवार हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार २ सय ६ मतभार प्राप्त गरेका छन्।

यस्तै सत्ता गठबन्धनकै महिलातर्फकी एकीकृत समाजवादीकी उम्मेदवार गरिमा शाहले प्रदेशसभातर्फ १ हजार ८ सय ७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९ सय ६२ मतभार पाएर निर्वाचित भएकी छन्।

उनकी निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार १ सय ५२ मतभार मात्र प्राप्त गरेकी छन्।

सुदूरपश्चिमबाट ३ सदस्य चुन्नका लागि निर्वाचन भएको थियो।

बुधबार बिहान ९ बजेबाट प्रदेशसभामा निर्वाचनको मतदान भएको थियो।

५२ प्रदेशसभा सदस्य र १ सय ७५ स्थानीय तहका जनप्रतिनिधि गरी कुल २ सय २७ मतदाता थिए।