Loading... आजः २०८३ बैशाख ५, शनिबार

एमालेलाई माधव नेपालको चेतावनी : आफ्नो पार्टीको वैधानिकताबारे धावा बोले सहेर बस्दैनौँ

 

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सहेर नबस्‍ने चेतावनी दिएका छन्।

 

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अध्यक्ष नेपालले प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो पार्टीबारे वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधीन भइरहेका बेला उनले यस्तो बताएका हुन्।

उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रूपमा स्वीकार गर्ने स्थिति बनाइएको दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘हामी वैधानिक रूपमा निर्माण भएको पार्टी हौं। हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं। सांसदको रूपमा स्वीकार गर्ने स्थिति पनि बनाएका छौं। यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औँलो ठड्याउने खोज्छ भने हामी सहन गर्दैनौं। त्यसो हुनाले हामी अघि बढेका छौं।’

सत्तारूढ गठबन्धन मिलेर तीनवटै तहको निर्वाचनमा जाने भन्दै स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए।

उनले भने, ‘स्थानीय तहको चुनाव वैशाख ३० गते तोकिसकिएको छ। अब हाम्रो पार्टीको सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु हो। सबै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर जानेछ।’

देशको हितमा कुठाराघात नहुने गरी एमसिसीलाई अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पारे। एमसिसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको उनको भनाइ छ।