Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसिसी सम्झौता शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा टेबल हुने दाबी गरेका छन्। दलहरूबीच सहमतिमै एमसिसी अघि बढाउन आवश्यक्ता महसुस गरेरै सरकारले २ दिनको समय दिएको पनि स्पष्ट पारे।

संसद भवन परिसरमा बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘यो संसदमा प्रवेश गर्नुपर्छ। संसदमा टेबल हुनुपर्छ। संसदमा छलफल भएर, संसद जो सार्वभौम संस्था हो, यसबारे बोल्ने संस्था हो। यसमा प्रवेश गराऔं। बाहिर सडकमा जुन बहस भइराखेको छ, त्यसलाई टुंग्याउन पनि संसदमै पुग्नु पर्छ। सडकको बहसले यसको टुंगो लाग्न सक्दैन।’

दलहरूबीच सहमति जुटाउन सरकारले सबै दलहरूलाई आह्वान गरिरहेको पनि उनले स्मरण गराए। विगतमा बनेका सबै पार्टी नेतृत्वको सरकारले आवश्यकता बोध गरेको एमसिसीलाई वर्तमान सरकारले संसदबाट पारित गराउन पहल गरेको उनको भनाइ छ। २ दिनभित्र एमसिसी संसदबाट पारित गराउन दलहरूबीच सहमति बन्ने उनको विश्वास छ।