सुर्खेतका २९ वटा मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील

सुर्खेत – प्रदेश निर्वाचन कार्यालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुटेको छ । यसै क्रममा मङ्गलबार पूर्वी सुर्खेतमा निर्वाचन कार्यालयसहित जिल्ला सुरक्षा समितिको टोली पुगेर अतिसंवेदनशील स्थललगायत निर्वाचन कार्यालय रहने स्थानहरूको स्थलगत निरीक्षण गरेकाे छ ।
सिम्ता गाउँपालिकाको निर्वाचन कार्यालय, मतदान स्थल तथा सम्भावित मतदान केन्द्रको अवलोकन गरी सुरक्षा अवस्थाबारे टोलीले जानकारी लिएको छ । सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीले नौ वटा वडा रहेको पालिकामा एउटामा बाहेक अन्य सबै वडामा सडक पहुँच पुगेको बताउनुभयो ।
उहाँले सबै मतदान केन्द्रमा गाडी पुग्ने हुँदा सुरक्षा चुनौती ठूलो नहुने दाबी गर्नुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा नं. ४ को बजेडीचौरमा मतदान स्थल रहेकोमा अहिले पालिका केन्द्र सरेर राकम पुगेको हुँदा पालिका वा नजिकै रहेको सामुदायिक भवनमा निर्वाचन कार्यालय बनाउन उपयुक्त हुने जानकारी दिनुभयो ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचनसम्बन्धी काम अगाडि बढिसकेको बताउनुभयो । उहाँले सुर्खेतमा १३८ मतदान स्थल रहने र मतदान केन्द्र २७६ सम्म पुग्ने जानकारी दिँदै अब मतदाता नामावली सच्याउनुपर्ने, त्रुटि हटाउने काममा सहयोग गर्न आग्रह गर्नुभयो ।







परिवर्तन संवाददाता
५ फाल्गुन २०७८, बिहीबार ०८:४३