एमसिसीको निकाससँगै गठबन्धन बचाउने प्रयासमा छौं : प्रचण्ड
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को निकास निकाल्नुका साथै पाँचदलीय गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन्।
सत्तारुढ गठबन्धनको बैठक अघि बिहीबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै दाहालले गठबन्धनलाई बचाउन आफूहरूले जोड दिएको बताएका हुन्।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा एमसिसी सम्बन्धमा निर्णायक बैठकको तयारीबारे छलफल भएको उनले बताए।
उनले बैठकमा एमसीसीलाई कसरी निकास दिने भन्नेबारे विशेष छलफल भएको जानकारी दिए। अध्यक्ष दाहालले भने, ‘हाम्रो ५ बजे मिटिङ छ। त्यसकै तयारीको रुपमा भेटघाट गरेका हौँ तीन दलको। तीन दललाई कसरी बचाउने भनेर लागेका छैनौँ।
पाँच दलको एकतालाई नै कसरी बचाउने भनेर लागेका हौँ र एमसिसीलाई कसरी निकास दिने भन्ने कुरा हो। आज ५ दलको बैठकमा छलफल गरेर एउटा निकास निकाल्छौँ र निकास निकाल्नेतिर नै हाम्रो जोड छ। जोड सकेसम्म गठबन्धन बचाउनेमा नै छ।’







परिवर्तन संवाददाता
५ फाल्गुन २०७८, बिहीबार १९:५४