छैटौं निर्वाचन दिवस

काठमाडौं –‘निर्वाचनमा सबै सधैँ सँग’ भन्ने मुल नाराका साथ आज छैटौं निर्वाचन दिवस मनाइँदैछ। नेपालमा सर्वप्रथम २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदातालाई शुभकामना दिँदै आगामी स्थानीय तह निर्वाचनमा स्वतः स्फूर्त सक्रिय एवं उत्साहजनक रूपमा सहभागी हुन आह्वान गरेका छन्। स्थानीय तहको निर्वाचन तीव्र तयारीकै बीचमा यसपटक निर्वाचन दिवस मनाइँदैछ। सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा हुने गरी घोषणा भइसकेको छ। २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो।
आयोगसँग निर्वाचन व्यवस्थापनका साढे छ दशकभन्दा लामो सफल प्रेरणादायी अनुभव र गौरवमय इतिहास छ। मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ।
आयोगले निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनियता प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता आवधिक निर्वाचन, बालिग मताधिकार र जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणालीको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी आयोगले कुशलतापूर्वक सम्पादन गरेको छ।
नेपालमा संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन तथा यसपछि सम्पन्न भएका उपनिर्वाचन र राष्ट्रिय सदस्य निर्वाचनबान देशभर करिब ४१ हजार ७०० जनप्रनिधि शासकीय प्रणालीमा सहभागी हुन सफल भएका छन्। निर्वाचन प्रतिनिधि छान्ने प्रकृया मात्र नभई जनतालाई शक्तिशाली बनाउने लोकतन्त्रको मेरुदण्ड पनि हो।









परिवर्तन संवाददाता
७ फाल्गुन २०७८, शनिबार ०८:३१