Loading... आजः २०८३ बैशाख ३, बिहीबार

कर्णालीका मुख्यमन्त्री सहितकाे टाेलीले गर्याे सहिद पार्कमा सरसफाइ

सुर्खेत- वीरेन्द्रनगरकै पर्यटकीय स्थल सहिद पार्कमा सरसफाइ कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाएकाे छ । प्रजातन्त्र दिवसको अवसर पारेर कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरू बिहानै सरसफाइ कार्यक्रममा जुटेका हुन् ।  कर्णाली प्रदेश सरकारले शुक्रबारदेखिनै विविध कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत आज दोस्रो दिन सरसफाइ कार्यक्रम गरिएको हो। सहिद पार्क पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा भाइरल स्थल हो ।

सरसफाइ कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाही, भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाया, सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह नेपाल प्रहरी, आर्मी लगायतको सहभागिता रहेको थियो । वीरेन्द्रनगरको वीरेन्द्रचोकदेखि त्यो स्थल झण्डै एक किलोमिटर उत्तरतर्फ पर्दछ । सहिद पार्क पार्क एउटा जङ्गलको बीचमा रहेको छ। पार्कभित्र एउटा सहिद स्तम्भ छ । एउटा पोखरी छ । त्यो पोखरी भित्रको पानीको छिर्काहरुसँग आन्तरिक पर्यटक रमाउने गरेका छन् । विशेष गरी यो पार्कमा युवा–युवती ‘डेटिङ’ गर्न र टिकटक बनाउनका लागि यहाँ आउने गर्दछन् ।

यो सहिद पार्क कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाउनेहरूको नाममा बनाइएको हो । मुख्यमन्त्री शाहीले प्रजातन्त्र दिवसको अवसरमा मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण नै जनताको चाहना भएको उल्लेख गरेका छन् । कर्णाली सरकारले प्रजातन्त्र दिवस ०७८ लाई ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ । भँगेरी चौर (अहिले पार्कस्थल)मा विगतमा आवधिक बस्ती थियो । त्यसपछि जिल्ला भू–संरक्षण कार्यालयले नर्सरी स्थापना गरेको थियो । त्यसको अवधि सकिएपछि सो जमिन खाली भएकाले सहिद पार्क बनाइएको उनले बताए । कर्णाली प्रदेश सरकारले सहिद पार्क स्थापनाका लागि २ करोड रकम खर्च यसअघि नै गरेको थियो ।