Loading... आजः २०८३ बैशाख ३, बिहीबार

अंक तालिकाको शीर्ष स्थानमा नेपाल

काठमाडौं –  ओमानमा जारी टी २० विश्वकप छनोट प्रतियोगितामा नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार दुई खेलमा जित निकाल्दै नेपाल ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

शुक्रबार पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ३९ रनले पराजित गरेको थियो भने शनिबार भएको दोस्रो खेलमा फिलिपिन्समाथि १३६ रनको जित निकालेको थियो। समूह चरणको एक खेल बाँकी रहँदा समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ।

त्यस्तै दुई खेलमा एक जित र एक हारबाट समान दुई दुई अंक जोडेका क्यानडा र ओमान क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने दुवै खेलमा हार व्यहोरेको फिलिपिन्स अंक तालिकाको पुछारमा रहेको छ।

नेपालले अन्तिम खेल सोमबार क्यानडाविरुद्ध खेल्नेछ। समूह चरणका सबै खेल सकिएपछि शीर्ष दुई टोली समूह ‘ए’का शीर्ष दुई टोलीसँग सेमिफाइनल खेल खेल्नेछन्। सेमिफाइनलका विजेता टोली आगामी अक्टोबरमा आयोजना हुने टी २० विश्वकप क्रिकेट अष्ट्रेलियाका लागि छनोट हुनेछन्।

समूह ए मा युएई, आयरल्याण्ड, बहराइन र जर्मनी सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छन्।

आइसीसीले क्वालिफायर ‘ए’ र क्वालिफायर ‘बी’ गरी दुई चरणमा विश्वकप छनोट खेलको आयोजना गरेको थियो। जसमा क्वालिफायर ‘ए’ प्रतियोगिता भइरहेको छ भने क्वालिफायर ‘बी’अन्तर्गतको खेल आगामी जुलाईमा जिम्बावेमा आयोजना हुँदै छ।

क्वालिफायर ‘बी’मा हङकङ, जर्सी, नेदरल्याण्ड्स, जिम्बावे, पपुवा न्युगिनी, सिंगापुर, युगाण्डा र अमेरिका रहेका छन्। जसबाट दुई टोली विश्वकप क्रिकेटका लागि छनोट हुनेछन्।